Explore news and happenings at Bhaktapur

कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारबारे छलफल

२०७७ कार्तिक २५ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाका जनप्रतिनिधि र स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार गर्ने विषयमा मंगलबार नगरपालिकाको सभाकक्षमा बैठक बस्यो ।

छलफलमा कोभिड नियन्त्रणबारे भक्तपुर नगरपालिकामा भए÷गरेका काम कारबाहीहरूको बारे अवगत गराउनुहुँदै नगर प्रमुख प्रजापतिले नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको तर संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव महसुस भइरहेको बताउनुभयो ।

स्रोत र साधनको अभावबीच पनि जनप्रतिनिधिहरूले आ—आफ्नो क्षमताअनुसार कोरोनाबाट समाजलाई जोगाउन सक्रियतापूर्वक लागिरहेको बताउनुहुँदै भक्तपुर नगरपालिकाले नेपाल सरकारको कार्यविधिअनुसार प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) गठन गरी कोरोना नियन्त्रण तथा रोकथाममा क्रियाशील ढंगले काम गरिरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।

कोरोना जोखिमबीच पनि भक्तपुर नगरपालिकाले अति आवश्यक सेवा प्रदान गर्दै आइरहेको बताउनुहुँदै नगरबासी संक्रमितहरूको लागि सुविधायुक्त ७५ बेडको आइसोलेसन केन्द्र निर्माण गरी कोभिडको यो जटील अवस्थामा पनि चिकित्सकहरूलाई पालो मिलाएर भक्तपुर नगरपालिकाका जनस्वास्थ्य केन्द्रहरूले ३०० भन्दा बढी जनतालाई नियमित रुपमा सेवा प्रदान गरिरहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. बासुदेव पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताउनुहुँदै कोरोना संक्रमितहरूको पहिचान हुन नसक्दा संक्रमणको खतरा झन् बढ्दै गइरहेको बताउनुभयो । उहाँले संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा पीसीआर परीक्षण गराई निको नभएसम्मको लागि संक्रमितहरूको लागि उचित परामर्शको आवश्यकता रहेको बताउनुभयो ।

छलफलमा भक्तपुर नपा वडा नंं. ७ का वडाध्यक्ष उकेश कवां, भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, ३ नं. वडाध्यक्ष राजकृष्ण गोरा, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले पनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि सुझावहरु प्रस्तुत गर्नुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र प्रमुख डा. रत्नसुन्दर लासिवाले कोरोना बीमाले जनतामाझ अन्योल सिर्जना गरिरहेको बताउनुहुँदै सञ्चारमाध्यमहरूमा कोरोनाबारे गलत भ्रम पैदा गरिरहेको र त्यस्ता गलत सूचना र भ्रमको खण्डन नेपाल सरकारको आधिकारिक निकायबाट हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ जनस्वास्थ्य निर्देशक रीता जोशीले नगरका हरेक टोलमा ‘कोभिड सहजीकरण सूमह’ गठन गरी कोरोना नियन्त्रण प्रभावकारी बनाउने विषयमा प्रस्तुतीकरण देखाउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.