Explore news and happenings at Bhaktapur

हनुमानघाट सुधार गुरुयोजना बन्दै

0

भक्तपुर, ७ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हनुमानघाट सुधारको लागि नगरपालिकाले गुरुयोजना तयार गरिरहेको बताउनुभयो ।

संस्कृतका आदिकवि महर्षि बाल्मिकीको जन्म जयन्तीको अवसरमा बुधबार आयोजित प्रवचन कार्यक्रममा प्रमुख प्रजापतिले इतिहास सत्य र तथ्यमा आधारित हुनुपर्ने बताउँदै हनुमानघाटमा बसेर बाल्मिकी ऋषिले रामायण लेखेको पुष्टि भएमा त्यसले आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने बताउनुभयो ।  उहाँले रामायण उत्कृष्ट साहित्यमध्ये एक भएको उल्लेख गर्दै त्यसमा वर्णित सबै घटना सत्य हो वा होइन भन्दा पनि त्यसको साहित्यिक महत्व छ भन्नुभयो ।

भनपाले तथ्य र प्रमाणहरूविना कुनै पनि निर्णय हचुवा तरिकाले गर्दैन, हरेक विषय सम्बन्धित विज्ञहरूको राय र सल्लाहबमोजिम मौलिकतालाई ध्यानमा राखेरमात्र गर्छ भन्दै उहाँले विदेशीको पैसाले चल्ने गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले नेपाललाई परनिर्भरतातिर डो-याइरहेको हुँदा त्यस्ता संस्थाहरूबाट नेपाली विज्ञहरू सचेत हुनुपर्छ भन्नुभयो ।

प्राज्ञ ज्ञानमणि नेपालले बाल्मिकीले पहिले लेखेको रामायणमा कति कुरा छ र यसले कति थपेको हो भनी आफूले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उहाँले पुरानो रामायण नेपाल राष्ट्रिय पुस्तकालयमा सुरक्षित रहेको बताउनुभयो ।प्रा.डा. शास्त्रदत्त पन्तले अहिलेका विद्वानहरूसँग अपनत्वको भावना, राष्ट्रिय भावना र जिम्मेवारी नै छैन भन्नुभयो । अर्का प्रा.डा. ऋषिराम पोखरेलले बाल्मिकी नेपालको मात्र होइन विश्वकै आदिकवि भएकोले उनको जन्मजयन्ती भव्यरुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

डा. पुरुषोत्तमलोचन श्रेष्ठ, डा. सुरेन्द्र केसी, रामबहादुर प्रजापतिलगायतले हनुमानघाटको ऐतिहासिक र धार्मिक महत्वको बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । भारद्वाज संस्कृति केन्द्र र हनुमानघाट सामाजिक सुधार समितिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमका सभापति चैतन्य देवकोटाले विश्वका धेरै ठाउँको सम्पदा र संस्कृति म्हासिएको उदाहरण पेश गर्दै देश र सम्पदा अरूले नलैजाऊन् र संस्कृति र सम्पदा भविष्यमा हामीले गौरव गर्ने धरोहरहरू हुन् भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.