Explore news and happenings at Bhaktapur

नेवार समाजमा प्रचलित परम्परागत गहनाको महत्व – एक अध्ययन

0

डा. बलराम कायस्थ
पृष्ठभूमी
काठमाडौं उपत्यकाको स्थानीय नेवार समाजमा गरगहनाको प्रचलन अर्थात् आभूषण लगाउने चलन प्राचीनकालदेखि नै चल्दै आएको पाइन्छ । त्यसबखत यहाँका मानिसहरूले विभिन्न प्रकारका गहनाहरू लगाउने गर्दथे भन्ने कुरा लिच्छवीकालीन अभिलेखहरूको अध्ययनबाट थाहा हुन्छ । गरगहनाहरू सुनचाँदी जस्ता बहुमूल्य धातुबाटै बनाइन्थ्यो । यसमा मोति, मुगा, माणिक, अम्बरजस्ता अनमोल रत्नजडित हुन्थ्यो । लिच्छवी राजा नरेन्द्रदेव आफ्नो दरबारमा आउँदा मोति, मुगा, अम्बर आदिका कुण्डल गहना लगाएर आउने गर्दथे भनिएबाट पनि यो कुरा पुष्टि हुन्छ । साथै समाजका उच्च वर्ग विशेष गरेर शासक वर्गले पर्व विशेषका अवसरमा देव–देवतालाई चढाउन, आफ्नो सौख पूरा गर्न, आर्थिक वैभवता प्रदर्शन गर्न आदि प्रयोजनका निम्ति गरगहना बनाउने वा लगाउने गरिएको देखिन्छ । तर त्यसबेला स्थानीयवासी प्रजालाई भने सबै प्रकारका गहनाहरू लगाउने पूर्ण छुट उपलब्ध थिएन । जस्तो भीमार्जुन देव र विष्णु गुप्तको य“गालहिटी अभिलेखमा के कुरा उल्लेख छ भने भुइँजसी नारान्द्यः(बुढानीलकण्ठ नारायण) को मूर्ति बनाउन दक्षिणी कोलीग्राम भेगका बासिन्दाले ठूलो ढुड्डा तानेर ल्याउन सकेकोमा त्यसदेखि प्रसन्न भएर विष्णु गुप्तले तिनलाई कल्ली, बाजु, पाउजेबलाई छोडेर अरु गहना लाउन पाउने स्वतन्त्रता दिइयो । यताबाट शासक वर्गले लाउने केयूर, नूपुर, पदक आदि केही गहना लाउने अधिकार जनतालाई थिएन भन्ने देखिन्छ ।

मल्लकालमा पनि केही पानी नचल्ने अछुट जातिलाई सुनका गहना लगाउन बन्देज थियो । यो परम्परा राणाकालसम्म पनि चलेको थियो । जे होस् माथिका दृष्टान्तहरूबाट यहाँका बासिन्दामा गरगहनाको प्रचलन प्राचीनकालदेखि नै थियो भन्ने तथ्य पुष्टि हुन्छ । यताबाट आज आएर हाम्रा शाक्य, बज्राचार्य आदि जातिसँग रहेको सुनचाँदीका गरगहनालगायत मूर्ति बनाउने जुन कला छ, त्यसको विकास त्यतिखेरै भएको अनुमान गर्न सकिन्छ । तर सातौं शताब्दीमा नेपाल भ्रमणमा आएका चिनियाँ तीर्थयात्री हु यङ साङको यात्रा विवरणमा परेको वर्णन भने अलि अपत्यारिलो वा विष्मयकारी लाग्दछ । जस्तो, उनको वर्णनअनुसार यहाँका बासिन्दाले बाँसका रिङ र गाईवस्तुका सिङबाट बनेका गहनाहरू लगाउने गर्दथे । यसबाट उनी सम्भवतः त्यतिखेर नेपाल उपत्यका आएका थिएनन् कि भन्ने शंका गर्न सकिन्छ । वास्तवमा यो ठाउँ प्राचीनकालदेखि नै आर्थिक रूपमा सम्पन्न र समृद्ध थियो ।

एकातिर यहाँको उब्जाउ भूमि र अर्कोतिर उत्तर र दक्षिणसँगको व्यापार आदि कारणले गर्दा यहाँका बासिन्दाले कहिले पनि के खाउँ के लाउँको समस्या भोग्नुपरेन । यस किसिमको समृद्ध आर्थिक स्थितिको पृष्ठभूमिमा नै यहाँका बासिन्दाले अनेक प्रकारका भब्य दरबार, मठ–मन्दिरहरू बनाउन सके, विभिन्न चाडपर्व, जात्रा–उत्सव, नाचगान, भोजभतेर आयोजना गरेर आनन्द लिन्थे । अतः यहाँका बासिन्दाले सुनचाँदीका गहना लगाउने भन्ने कुरा सामान्य नै देखिन्छ । जंगली अवस्थाका मानिसले लगाउने गहनाहरू यहाँका स्थानीयवासी नेवारहरूले कहिले लगाउनुपरेन । यसैले डा. डिल्लीरमण रेग्मीले भन्नुभए जस्तै चिनियाँ यात्री हु यङ साङ त्यतिखेर या त नेपाल उपत्यका आएकै थिएनन् या त उनको वर्णन यहाँका स्थानीयवासी नेवारहरूका सन्दर्भमा नभएर अरु नै कुनै जंगली जातिका सन्दर्भमा गरिएको हुनुपर्दछ भन्ने लाग्दछ ।

संसारका विभिन्न देशहरूमा गहना लगाउने आफ्नै चलन छ । नेपालमा पनि प्रत्येक जातिका आफ्नै परम्परागत गहना लगाउने चलन पाइन्छन् । नेपालमा गर–गहनालाई बढ्ता महत्व दिने जातिमा नेवारहरू नै अगाडि पर्दछन् । गहना लगाउने इच्छा कसलाई नहुँदो हो ? अन्य समाजमा जस्तै नेवार समाजमा पनि गर–गहनाको बढी प्रयोग पुरुषले भन्दा महिलाले गर्छन् । प्रस्तुत लेखमा गर–गहना केबल श्रृङ्थार प्रशाधनका साधन, विलासिताका वस्तु र वैभवता प्रदर्शन गर्ने माध्यममात्र नभई धार्मिक, सांस्कृतिक, आयुर्वेदिक उपचार, ज्योतिषशास्त्रीय विश्वासका प्रतिक हुन् भनी देखाउन खोजिएको छ । यहाँका परम्परागत गहनाहरू पनि यसै आधारमा बनेका हुन्छन् ।
गरगहनाको महत्व

 

नेवार समाजमा गर–गहनाको बहुप्रचलन प्राचिनकालदेखि नै हुँदै आएको छ । आफ्ना प्रत्येक चाडपर्व, जात्रा, उत्सव, सामाजिक संस्कार, धार्मिक समारोह, भोजभतेरजस्ता विशेष अवसरहरूमा परम्परागत गहना लगाएर सजधज हुनु नेवार महिलाहरूको परम्परागत विशेषता नै मानिन्छ । यसबाहेक अघिपछि अर्थात् सामान्य दिनहरूमा पनि गहना लगाउने गर्छन् । तर बढी तौलका अर्थात् महँगा आभूषणहरू भने विशेष अवसरहरूमै लगाउने गरिन्छ । नाक छेडेर वा नाकको बीचमा प्वाल पारेर गहना लाउने चलन भने नेवार महिलाहरूमा पाईदैन । यस समाजमा गहनाको प्रचलन सामाजिक आडम्बर र आर्थिक वैभव भन्दा पनि धार्मिक, सांस्कृतिक विश्वासका साथै आयुर्वेद र ज्योतिषशास्त्रका आधारमा भएको देखिन्छ । आफ्नो आरोग्य, सुस्वास्थ्य, दीर्घायु जीवन, उत्तरोत्तर प्रगति, घरपरिवारमा सुखशान्ति, सुमंगल कायम होस् भन्नाका लागि आभूषण लगाउने गरिन्छ ।
सुन, चाँदी, तामा वा महँगा रत्न वा हिराले बनेका आभूषणले मानिसलाई कि त सकारात्मक प्रभाव पार्ने गर्दछ कि त नकारात्मक असर पु¥याउँछ । त्यसैले आफ्नो राशीअनुसार शुभ, अशुभ हेरेर मात्र आभूषण धारण गर्नुपर्ने मान्यता रहेको पाइन्छ । ज्योतिषशास्त्रका अनुसार प्रत्येक धातुले मानिसमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । ती ग्रहले यी धातुलाई आफू अनुकुल प्रभावित गर्ने गर्दछ ।

सुन विश्वको जुनै बजारमा पनि चल्ने एउटा अन्तर्राष्ट्रिय मुद्रा हो भन्दा फरक पर्दैन । यो धातुहरूमध्ये सबभन्दा महड्डो धातु हो । साथै यो पवित्र धातुमा गनिन्छ । यसैले कम्मरभन्दा मुनिको भागमा सुनका गहनाहरू लगाईदैन । पाउजु, कल्ली आदि चाँदीकै बनाइन्छ । खुट्टामा सुन लगाउँदा दाम्पत्य जीवनमा समस्या आउने, स्वास्थ्य खराब हुने विश्वास गरिन्छ । सुतक, नछुने हुँदा, मसानघाट गएर फर्कंदा आदि अपवित्र अवस्थालाई पवित्र पार्न सुनपानी छर्कने चलन यहाँ आज पनि छ । यदि परिवारमा सन्तान छैनन् भने देब्रे हातको साहिंली औंला (रिड्ड फिंगर) मा सुनको औंठी लगाउँदा त्यस सुनले विस्तारै आफ्नोे असर देखाउन थाल्छ । सन्तान योगलाई रोक्ने ग्रहलाई टाढा भगाउँछ । त्यस्तै दाम्पत्य जीवनलाई सुखी र आनन्दमय बनाउनका निम्ति घाँटीमा सुनको सिक्री र हातको चोर औंलामा सुनकै औंठी लगाइन्छ । साथै सुनले ऊर्जा र गर्मी दुवै पैदा गर्दछ । यसैले आयुर्वेदमा सुवर्णभष्मबाट एउटा शक्तिबद्र्धक औषधि नै बनाइन्छ, जसले दुब्लोपातलो व्यक्तिलाई पनि हृष्टपुष्ट तुल्याउँछ । सुनको पानी पिउँदा शरीरमा इम्युनिटी पावर वृद्धि गर्दछ । यदि रुघाखोकी वा श्वासप्रश्वाससम्बन्धी समस्या छ भने हातको कान्छी औंलामा सुन धारण गर्नु राम्रो मानिन्छ । तर पेट वा मोटोपनाको समस्या भएकालाई र त्यस्तै गरेर अत्यधिक रिस उठ्ने मानिसहरूलाई सुनका गहना लगाउनु राम्रो मानिंदैन ।

उपर्युक्त तथ्यहरूबाट नेवार समाजमा गहनाको प्रचलन धार्मिक, सांस्कृतिक परम्पराका साथै आयुर्वेद र ज्योतिषशास्त्रका आधारमा भएको देखिन्छ । यसैले नेवारहरू गहनालाई केवल श्रृङ्गार प्रशाधन र विलासिताको वस्तुको रूपमा मात्र नहेरी आत्मरक्षा गर्ने, आत्मबल बढाउने एवम् आफ्नोे वंश, धर्म, तथा सामाजिक, आर्थिक र पारिवारिक स्थितिको सूचना दिने माध्यमको रूपमा पनि प्रयोग गर्छन् । नेवारहरूले गहनाद्वारा सजाउने शारीरिक अड्डको छनौट विना आधार त्यसै गरेका छैनन् । गहना विशेषको महत्व र प्रयोगको उद्देश्यअनुसार त्यसलाई शरीरको कुन अंगमा पहिरिने हो, त्यो निश्चित् गरिएको छ । प्रायः तिनीहरू शरीरका खुल्ला र झ्वाट्ट हेर्दा देखिने अड्डमा नै आभूषण पहिरिने गर्छन् ।

आर्थिक वैभव अथवा तडकभडक प्रदर्शन गर्ने अभिप्रायले यसो गरिएको हो कि भन्ने भान परे तापनि वास्तवमा यसको अर्थ त्यो होइन । यस विषयमा तिनको विश्वासलाई केलाएर हेर्दा के भेटिन्छ भने गहनालाई कमजोर अड्डको रक्षा कबचका रूपमा प्रयोग गरिने रहेछ भन्ने थाहा हुन्छ । यस्तो गहना कबचमा ठोकिएर वरिपरी घुमिरहने दूषित वायु वा कुदृष्टिको आक्रमण समेत निष्फल हुन पुग्छ भन्ने जनविस्वास रहेको पाइन्छ । अर्कातर्फ केही गहनाहरूले जीवनमा शक्ति सञ्चार गर्छ भन्ने जनविश्वास पनि रहेको पाइन्छ । जस्तो जन्तर लगाउँदा मुटुको हाराहारीसम्म पुग्ने गरी लगाइन्छ । यसबाट रक्तसञ्चार सुचारु हुन्छ । त्यसैगरी नाडीमा पञ्चरड्डी बाला लगाउँदा रक्त शुद्धतामा राम्रो गर्दछ । नवजात शिशुका कमजोर अड्डहरूलाई निलो वा कालो धागोले बेरेर सुरक्षा प्रदान गर्ने परम्परा पनि प्रचलित छ ।

त्यसै गरेर आफ्नोे जन्मको जुन राशी हो, त्यही राशीअनुसारको रत्न र धातु मिलाएर निर्धारित हातको औंठीमा लगाउनाले विभिन्न किसिमका रोगव्याधिबाट मुक्त भइन्छ, बाधा–व्यवधान हट्छ भन्ने ज्योतिषशास्त्रीय मान्यता रहेको छ । कतिपय गहना वा गहनाको संयोजन आकर्षक हुने भएर पनि विरोधाभाषयुक्त प्रयोग भने स्थानीय नेवारहरू गर्न चाहँदैनन् । जस्तो कतिपय दृष्टिकोणबाट फलाम एक शक्तिशाली धातु हो र त्यसको सानो अंशमात्र पनि अन्य धातुमा मिसाएर प्रयोग गर्दा शनिग्रहको दशाबाट मुक्त होइन्छ भन्ने विश्वास ब्याप्त छ । तर नेल अर्थात् हथकडी बनाउन प्रयोग गरिने धातु भएको हुनाले फलामको चुरा वा कल्लीको प्रयोगलाई ती ठीक मान्दैनन् ।

नेवार समाजमा ग्रह, धातु, रत्न एवं शारीरिक अड्डबीच समन्वय गरी गहना लगाउने चलन पाइन्छ । जस्तो, नीर, फलाम, माझी औंला र प्रत्येक शनिबारलाई शनिग्रहको प्रतिक अथवा उपचार मानिन्छ । यसैले शनिको दोष निवारणार्थ नीरलाई फलामको औंठीमा जडेर देब्रे हातको माझी औंलामा शनिबारका दिन लगाउने गरिन्छ । तायो, न्यासिता, तिका एवं औंठीहरूले दैवीय शक्ति र मानवबीच राम्रो समन्वय गर्छ भन्ने जनविश्वास अहिले पनि यस समाजमा व्याप्त छ । यी गहनाहरू पारिवारिक सम्बन्धका प्रतिक पनि बनेका छन् । यसरी गरगहनाको प्रयोग सामाजिक तडकभडक र आर्थिक सम्पन्नता प्रस्तुत गर्ने माध्यममात्र नभएर यसभित्र अनेक प्रकारका मौलिक सांस्कृतिक परम्परा र धार्मिक विश्वासहरू पनि रहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ ।

उपसंहार
इतिहास, कला, संस्कृति भनेको मानिसको आफ्नो मौलिक पहिचान हो । तसर्थ यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुनु जरुरी देखिन्छ । तर मुलुकमा प्रजातन्त्र आएपछि बाह्य जगतसँगको सम्पर्क र मानिसमा आधुनिक बन्ने रहरले गर्दा नेवार सभ्यता र संस्कृति क्रमशः अतिक्रमित हुँदै गएको छ । यसको प्रत्यक्ष असर तिनले लगाउने आभूषण वा गरगहनामा पनि परेको छ । फलस्वरूप परम्परागत गहनाको परित्याग गरी तिनका सांस्कृतिक मूल्य, मान्यता र महत्व बिर्सिंदै जान थालेको छ । परम्परागत विश्वासलाई वास्ता नगरी केवल श्रृङ्गारको प्रशाधनका रूपमा मात्रै गर–गहनालाई प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । पुराना गहनाहरू कुनै कर्मकाण्ड वा संस्कार विशेषमा मात्र आक्कल–झुक्कल रूपमा देखा परिरहेका छन् । पुराना गहनाका ढाँचा एवं लगानीलाई भारतीय ढाँचाको र कम लगानीका गहनाले विस्थापित गर्दै लगेको देखिन्छ । जस्तो, मल्लकालीन गहना तायोको सट्टा हिजोआज भारतीय मंगलसुत्रको चलन ज्यादा बढेको छ । त्यतिमात्र होइन, अंशबण्डाको बेला परिवारका सबै सदस्यहरूलाई समभाग बाँड्नुपर्ने निहुमा लुँ स्वाँ, तायो, तिखंः, न्यापुसिखः जस्ता पुराना ढाँचाका मौलिक गहनाहरू गालेर मसिना र कम तौलका गहना बनाउने प्रवृति बढ्दै गइरहेको छ ।

ऐतिहासिक स्रोतसामग्रीका आधारमा नेवार समाजका परम्परागत गहनाहरू निम्नप्रकारका रहेका छन् ।—
(क) हातमा लगाउने गहना– सुनको औंठी, चेन अंगु, लुं प्राण अंगु, प्याख अंगु, धुर्ति अंगु, गुलपान अंगु, अंजा, हिरा जडेको औंठी, चुल्या, सुनको              बाला, चाँदीको बाला, चाँदीको औंठी, बाही, कंकण आदि ।
(ख) घाँटीमा लगाउने गहना– तोल, गुल्यामाला, दोविनमाला, मोहनमाला, खाड्डमखुर, रुद्राक कव चका, जन्तर सिखः, नागपास(श), भिंसिखः, ति           भाभा, मुगाको माला, तायो, जन्तर, मोतीको माला, सुनको सिक्री, तिखः, चन्द्रहार आदि ।
(ग) टाउकोमा लगाउने गहना– लुँ स्वाँ, लुँ केतकी स्वाँ, न्हसकोत यात च्वय क्वय, चापरी टप, कुण्डल आदि ।
(घ) खुट्टामा लगाउने गहना– कल्ली, तुतीताल, तुतीवाकी आदि ।
(ङ) गहना बनाउँदा प्रयोग गरिने वस्तुहरू– पद्मराग, पुष्पराग, चन्द्रकान्ति, सूर्यकान्ति, हिरा, मोती, पोते आदि ।
सन्दर्भग्रन्थ सूची
–  रेग्मी, डी.आर., एनसिएन्ट नेपाल, कलकत्ताः के.एल. मुखोपाध्याय, ई.सं. १९६५ ।
– ……………., मेडियभल नेपाल, भाग २, कलकत्ताः के.एल. मुखोपाध्याय, ई.सं. १९६६ ।
– बज्राचार्य, चुन्दा, मल्लकालका ऐतिहासिक सामग्री धर पौः –अप्रकाशित शोध प्रबन्ध, नेपाल तथा एसियाली अनुसन्धान केन्द्र, त्रि.वि. कीर्तिपुर ।
– बज्राचार्य, धनबज्र, लिच्छवीकालका अभिलेख, काठमाडौ नेपाल तथा एशियाली अनुसन्धान केन्द्र, त्रि.वि., वि.सं. २०३० ।
– वैद्य, टि.आर. र अन्य, सोसल हिस्ट्री अफ नेपाल, न्यु दिल्लीः अनमोल पब्लिकेसन प्रा.लि., ई.सं. १९९३ ।
– पासुका (पत्रिका), वर्ष ३, अंक ७ ।

Leave A Reply

Your email address will not be published.