देको मिवा इतापाके जग्गा एकीकरण रिप्लट्रिङ नीतिसम्बन्धी साविक १५ ख मा भएको जग्गाधनी—मोही भेला
भक्तपुर । कार्तिक २९ गते, शुक्रबार
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले देशको ७५३ वटै स्थानीय तहका तत्तत् स्थानमा जनताको सुविधाको लागि व्यवस्थित आवास आयोजना विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“विकास बजेट काठमाडौँ उपत्यकामा मात्र खर्च गर्नुहुन्न”, उहाँले भन्नुभयो ।
“दिल्लीमा प्रदूषणले विपद् ल्यायो । त्यस्तो स्थिति काठमाडौँमा पनि उत्पन्न हुनसक्छ । देशको सन्तुलित विकास नहुँदा काठमाडौँका बासिन्दा फोहरमैला, प्रदूषण, खानेपानी, अपराधलगायत समस्याबाट पीडित छन्”, सांसद सुवालले भन्नुभयो ।
“अव्यवस्थित बसोबास वृद्धि भएकैले बागमती, विष्णुमती, मनोहरालगायत खोलामा अतिक्रमण बढेको र सार्वजनिक जग्गा, कमलपोखरी व्यक्तिको नाममा दर्ता र बेचबिखन भएको हो”, उहाँले स्पष्ट पार्नुुभयो ।
स्थानीय जग्गावालालाई व्यवस्थित बसोबास गराउन सुरू भएको आवास योजना कम लागतमा समय अगावै सम्पन्न गर्नुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले जग्गाधनी र मोहीलाई बढीभन्दा बढी सहुलियत र सेवा दिन आयोजना लागिपर्ने र त्यसको लागि भनपाले सहयोग गरिरहेको बताउनुभयो ।
“आयोजनाभित्र रहेका कसैलाई पनि आयोजनाले विस्थापित गर्नेछैन”, प्रमुख प्रजापतिले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भनपाले गर्दै आएको विकास निर्माणका कार्यहरूबारे जानकारी गराउँदै उहाँले भनपाका जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रअनुसार जनताको सेवा गरिरहेको स्पष्ट पार्नुभयो ।
जग्गा एकीकरण आयोजना उपभोक्ता समितिका अध्यक्ष तुल्सीराम धुख्वाको सभापतित्वमा भएको उक्त भेलामा वडाध्यक्षद्वय हरिप्रसाद बासुकला र राजकृष्ण गोराले पनि बोल्नुभएको थियो ।
भेलामा आयोजना प्रमुख ओमहरि थाले आयोजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।