Explore news and happenings at Bhaktapur

नेमकिपाको सातौ महाधिवेशनको प्रचारार्थ प्राध्यापकहरूको भेला

भक्तपुर, २१ भदौ ।

0

नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशनको प्रचारार्थ एवम् समसामयिक विषयमा जानकारी दिने उद्देश्यले शनिबार ख्वप मावि तथा शारदा क्याम्पस माविमा कार्यरत प्राध्यापकहरूको भेला भयो ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा सङ्कतको बेला बुद्धिजीवीहरू चुप लागेर बस्न नहुने चर्चा गर्दै अन्याय र अत्याचारविरूद्ध बुद्धिजीवीहरू अग्रपङ्तिमा उभिनु आवश्यक छ भन्नुभयो ।

नेमकिपाको नीति र निर्देशनअनुसार भक्तपुर नगरपालिकामा कार्य भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “भनपाले कलेजहरू सञ्चालन गर्नु पनि पार्टी निर्देशनकै सिलसिला हो । शिक्षाको माध्यमबाट समाजमा आमूल परिवर्तन गर्ने लक्ष्य भनपाको हो ।”

भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचार र अनियमिताबारे प्रकाशित समाचार, भनपा र क्यान्सर अस्पतालबीचको समझदारी अस्पतालले उल्लङ्घन गरेको र त्यहाँ कार्यरत कर्मचारी र नगरवासीको दबाबअनुसार नै हालको लागि भनपाले क्यान्सर अस्पतालको व्यवस्थापन जिम्मा लिनुपरेको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “हामीले गरेको हरेक काम खुला पुस्तक सरह पारदर्शी हुनुपर्छ ।”

भारतीय विस्तारवादले नेपालको सीमा क्षेत्रमा बनाएको सडक बाँधको कारण नेपालको अन्न भण्डार तराई क्षेत्र भारतको लागि जल भण्डारमा परिणत भए पनि शासक पार्टीहरूले केही बोल्न नसक्नु लाचारीपन भएको उहाँले बताउनुभयो ।

भेलामा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले प्राध्यापकहरुले पढाईका अतिरिक्त समसामयिक राष्ट्रिय र अन्तराष्ट्रिय घटनाक्रमबारे जानकार भई समाजलाई सही बाटोमा अगाडि बढाउने कार्यमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

“नेमकिपाले भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवादविरूद्ध निरन्तर विरोध एवम् सङ्घर्ष गर्नुका साथै अन्याय र अत्याचारविरूद्ध जनतालाई सुसूचित गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले नेमकिपाको सातौ महाधिवेशन सफलताको लागि प्राध्यापकहरूबाट सक्रिय सहयोगको अपेक्षा गर्नुभयो ।
भेलामा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.