Explore news and happenings at Bhaktapur

‘सामाजिक शिक्षा’ विषयमा इसानको एकदिने कार्यशाला गोष्ठी

२०७६ साउन १० गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजना भएको सामाजिक विषयमा एकदिने कार्यशाला गोष्ठीको उद्‍घाटन गर्नुभयो ।

प्रमुख प्रजापतिले तालिमको सफलताको कामना गर्नुहुँदै शिक्षालाई व्यापारको रुपमा नभई सेवाको रुपमा विकास गर्नुपर्ने र समाजवादउन्मुख शिक्षा नीति अवलम्बनमा जोड दिनुपर्ने बताउनुभयो ।

सरकारले शिक्षा क्षेत्रमा अरबौं रुपैयाँ लगानी गरिरहे पनि सामुदायिक विद्यालयको शैक्षिक स्तर घटिरहनुमा सरकार नै दोषी भएको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको लथालिङ्ग स्थितिले पनि देशको शैक्षिक स्थिति खस्किँदै गएको प्रस्ट भएको औंल्याउनुहुँदै प्रमुख प्रजापतिले त्रिविमा भएको अनियमितता र घुस प्रकरणले प्राज्ञिक संस्थाहरूमा व्यापारिक सोच भएका व्यक्तिहरु हावी हुनु निन्दनीय भएको बताउनुभयो ।

हाम्रो शिक्षा विदेशको सेवाको निम्ति भन्दा आफ्नै देश विकासको निम्ति हुनुपर्ने बताउनहुँदै उहाँले देशको सार्वभौमिता रक्षा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो । योग्य र इमानदार व्यक्तिहरु राजनीतिमा आउनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले देशको नेतृत्व सम्हाल्ने युवा शक्ति तयारमा कलेज तथा विद्यार्थीहरुले जोड दिनुपर्ने र विद्यार्थीहरुलाई देश र समाजको निम्ति काम गर्न उत्साहित गर्दै लानुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थागत विद्यालय संघ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाले सामाजिक शिक्षा समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय भएकोले सामाजिक शिक्षा अध्यापन गराउने शिक्षक–शिक्षिकाहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे जानकार हुनुपर्ने बताउनुभयो ।

 

 

 

 

कार्यक्रममा इसानका महासचिव पुरुषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.