Explore news and happenings at Bhaktapur

चिनियाँ भाषा हेर्दा जटिल तर सिक्दै जाँदा सरल —अध्यक्ष बिजुक्छेँ

भक्तपुर । २०७६ साउन १ गते, बुधबार

0

भक्तपुर, १ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने तीनमहिने चिनियाँ भाषा र पाक शिक्षाको उद्घाटन एक समारोहबीच बुधबार गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष रोहितले सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्व‌पूर्ण देशकै सानो नगर भएको बताउँदै भक्तपुरमा पर्यटन उद्योगको सम्भाव्यता धेरै भएको चर्चा गर्नुभयो ।

पर्यटकको बसाइ लम्ब्याउन तथा पर्यटन व्यवसायलाई फस्टाउन चिनियाँ भाषा तालिम र पथप्रदर्शकलगायतका तालिमहरू उपयोगी हुने बताउँदै अध्यक्ष रोहितले चिनियाँ भाषा सँगसँगै चिनियाँ साहित्य, सभ्यता र चीनको इतिहासबारे अध्ययनमा नयाँ पुस्ताले जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चिनियाँ भाषा हेर्दा जटिल तर सिक्दै जाँदा सरल लाग्ने भाषा भएको बताउँदै उहाँले नयाँ पुस्ताहरू आफ्नो मातृभाषाबाहेक अरु विभिन्न भाषाका तालिमहरूले व्यक्तित्व विकास गर्न सहयोगी भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका युवा पुस्तालाई रचनात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले नगरपालिकाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

“अध्ययन अनुसन्धान तथा तालिमले नयाँ–नयाँ प्रविधिको विकासमा मद्दत पुर्या‌उने छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।

भनपाका उपप्रमुख रजनी जोशीले सांस्कृतिक संरक्षण गर्नुको अर्थ मौलिकता जगेर्ना गर्नु रहेको बताउँदै आफूले सिकेको तालिम र सीपमार्फत आफू परिष्कृत हुने र समाजको लागि योगदान पुर्या‌उने ढंगले काम गर्न अभिप्रेरित गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले फोटोग्राफी, कृषि प्राविधिक तालिम, लिपि, सिलाइ, काष्ठकला, कपाल काट्ने, पथप्रदर्शक तथा रेडियो प्रस्तोतालगायतका विभिन्न तालिम र स्थानीय सरकारप्रति युवाहरूलाई उत्तरदायी बनाउने हेतुले सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य तथा तालिम संयोजक रोशनमैया सुवाल र भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.