Explore news and happenings at Bhaktapur

विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, २०७६ असार १३ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारबाट सञ्चालित चारदिने विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्‍घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले तालिम लिएकाहरुले विपद्को समयमा दमकल र एम्बुलेन्सले जस्तै सेवा प्रवाह गर्नुपर्ने बताउनुहुँदै नयाँ पुस्ताका युवा–विद्यार्थीलाई उद्धारका विभिन्न तौर–तरिकाबारे प्रशिक्षित गर्नुपर्ने बताउनुभयो । उहाँले पाठ्यक्रममै उद्धारका काम र कारबाहीबारे सचेत बनाउन सके सम्भावित दुर्घटना र जोखिमबाट सजग हुन मद्दत पुग्ने बताउनुभयो ।

विपद्को समयमा व्यक्तिगत रिस र मनमुटाबले काम गर्न नहुने बताउनुहुँदै उहाँले शारीरिक रुपमा अशक्त, ज्येष्ठ नागरिक, बाल–बालिका र महिलाहरुलाई विशेष प्राथमिकता दिई विपद्को समयमा उद्धार गर्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय र सहकार्य गरी कार्य अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।

                भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सुरक्षा व्यवस्थापनको आवश्यकता र महत्वबारे प्रस्ट पार्नुहुँदै मापदण्ड र आचारसंहिताको पालना नहुँदा जोखिम बढिरहेको बताउनुभयो । विपद् न्युनीकरणको लागि मापदण्ड र आचारसंहिता कडाइका साथ लागु गर्नु आवश्यक भएको औंल्याउनुभयो ।

       भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरको आधारभूत आवश्यकता पहिचान गरी नगरपालिकाले वडास्तरीय  विपद व्यवस्थापन तालिम सञ्चालन गरेको बताउनुभयो ।

            कार्यक्रममा विपद् व्यवस्थापन तालिमका प्रशिक्षक सेनानी भगीरथ महतले नेपाली सेनाले विपद् व्यवस्थापनमा खेलिरहेको भूमिकाबारे प्रष्ट पार्नुहुँदै मानव क्षति न्युनीकरण गरी पीडित समुदायलाई जोखिमबाट बच्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका श्यानिटेशन शाखा प्रमुख दिलिपकुमार सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.