Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिलाई इसीडीका शिक्षकद्वारा ज्ञापन पत्र बुझाइयो

भक्तपुर । २०७६ असार २ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सोमबार नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेक्राशिसंघ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसा र इसीडी शिक्षक एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउनुभयो ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले इसीडी शिक्षकहरुको समस्या सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको जानकारी गराउनुहुँदै तल्लो तहमा अध्यापन गराउनु सम्मान योग्य कामको रुपमा चर्चा गर्नुभयो ।

प्रमुख प्रजापतिले नगरभित्रका सामुदायिक आधारभूत विद्यालयहरुको शैक्षिकस्तर उठाउन शिक्षक–शिक्षिकाहरुलाई नयाँ सिकाइ प्रविधिको तालिम सञ्चालन गरी विद्यालयहरुको नियमित अनुगमन गर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गरी सिंगो समाजलाई बुद्धिजीवीकरण गर्न योगदान गर्ने उद्देश्य बोकेको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक संघ, भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसाले ज्ञापन पत्र वाचन गर्नुभइ नगर प्रमुख प्रजापतिलाई ज्ञापन पत्र बुझाउनुभयो ।

ज्ञापन पत्रमा पूर्व प्रावि तहमा काम गर्ने शिक्षक (सहयोगी कार्यकर्ता)हरुको तलब प्रावि सरह गर्नुपर्ने, प्रावि तहमा काम गर्ने शिक्षकहरुको शैक्षिक योग्यता एसइइ पूरा भएको हुनुपर्ने, इसीडीमा शिक्षकहरुलाई प्रत्येक वर्ष पुनःताजगी तालिम दिइनुपर्ने, विद्यार्थी संख्याअनुसार प्रत्येक १५ जना विद्यार्थी बराबर १ जना शिक्षकको व्यवस्था हुनुपर्ने, पूर्व प्रावि तहको लागि कार्यालय सहयोगीसरहको तलब भत्ता, पोशाक भत्ता, महँगी भत्ताका साथै पेशागत सुनिश्चितताको व्यवस्था गरिनुपर्र्नेे, स्थानीय सरकार र प्रदेश सरकारसमेतले शिक्षामा बजेट व्यवस्था गरिनुपर्नेलगायतका १२ बुँदाका मागहरु समावेश छन् ।

Leave A Reply

Your email address will not be published.