Explore news and happenings at Bhaktapur

स्थानीय पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण

२०७६ जेठ ३० गते बिहीबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा नगर भित्रका सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुका कक्षा २ मा अध्यापनरत शिक्षक/शिक्षिकाहरुका लागि १ दिने स्थानीय पाठ्यक्रयम सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले संविधान प्रदत्त अधिकार स्थानीय तहमा आइसकेपछि भनपाले स्थानीय पाठ्यक्रम तयार गरेको जानकारी दिनुभयो । पाठ्यक्रममा रहेको कमजोरीलाई विस्तारै हटाउँदै जाने बताउनुहुँदै उहाँले नगरपालिको लक्ष्य शिक्षालाई श्रमसँग जोड्ने रहेको बताउनुभयो । सामुदायिक र संस्थागत विद्यालयको असमानतलाई न्यूनीकरण गर्दै जाने भनपाको लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । पाठ्क्रयम निर्माण टोलीले गरेको मिहेनतको कदर गर्नुहुँदै उहाँले पाठ्यक्रमको लागि पाठ्यपुस्तक अनिवार्य नभएको र समाजनै एउटा खुल्ला पुस्तक भएको स्मरण गराउनुभयो ।

भक्तपुर नगरपालिकाको मुख्य आयश्रोत पर्यटन भएकोले ख्वपको पहिचानलाई जिवित राख्न नयाँ पुस्तालाई पनि भक्तपुरको बारेमा ज्ञान प्रदान गर्नुपर्ने बताउनुभयो । ख्वपको पहिचान बोकेको यो पाठ्क्रमलाई आ–आफ्नो विद्यालयमा प्रभावकारी रुपमा लागू गर्न सक्दो मिहेनत गर्नका लागि सम्पूर्ण अध्यापनरत शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले लागू गरेको पाठ्यक्रम सहज तरिकाले अध्यापन गर्न शिक्षकहरुलाई आग्रह गर्नुहुँदै आफ्नो ठाउँको बारेमा जबसम्म विस्तृत जानकारी हुँदैन तबसम्म स्थानीय तह, समाज र देश विकास गर्न कठिन हुन्छ भन्नुभयो । इतिहासलाई उजागर गर्ने काम पाठ्यक्रमले गर्ने हुनाले यसले सीप विकासलाई पनि टेवा दिने जानकारी दिनुहुँदै स्थानीय सीपलाई अभिवृद्धि गर्दै आफ्नो भाषालाई पनि विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय पाठ्यक्रम कार्यदलका संयोजक योगेन्द्रमान विजुक्छेंले जाती, भाषा, संस्कृति सबैको साझा सम्पत्ति भएकोले देशको सन्तुलित विकास गर्न आधुनिकताको साथै आफ्नो मौलिक संस्कृतिलाई सँगै अगाडि बढाउनुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाको मुख्य लक्ष्य पनि सम्पदा र कला संस्कृति जगेर्ना गर्नुनै रहेको कुरा बताउनुभयो ।
नगर शिक्षा अधिकृत बैकुण्ठ झाले व्यवहारिक परिवर्तननै शिक्षा भएको कुरा स्मरण गर्दै गत वर्ष कक्षा १ र ६ मा लागू भएको पाठ्यक्रमको प्रभावकारितालाई कायम राख्दै यो वर्षदेखि कक्षा २ र ७ मा पनि प्रभावकारी ढंगले शिक्षण गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ९ नं. वडाध्यक्ष रविन्द्र ज्याख्व र ५ नं. वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य लगायतको उपस्थिति रहेको कार्यक्रममा पाठ्यक्रम कार्यदलका संयोजक योगेन्द्रमान विजुक्छें, सदस्यहरु सिद्धिरत्न शाक्य, उद्धब सुजखु, राजेन्द्र श्रेष्ठ र रोशनराज तुईतुईले छुट्टाछुट्टै प्रस्तुतिकरण गर्नुभयो ।
शुक्रबार कक्षा ७ मा अध्यापनरत शिक्षक÷शिक्षिकाहरुका लागि स्थानीय पाठ्यक्रयम सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.