Explore news and happenings at Bhaktapur

बजेट तर्जुमासम्बन्धी उद्योगी, व्यवसायी र ब्यापारीबीच राय सुझाव संकलन

भक्तपुर । २०७६ जेठ २३ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा बिहीबारबार उद्योगी, व्यवसायी र ब्यापारीबीच सुझाव संकलन गर्यो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले व्यापारी, उद्योगी र व्यवसायीहरुले नाफामा मात्र केन्द्रित नभई सामाजिक र नागरिक भावना राखेर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो । नगरका सबै उद्योगी व्यापारीहरु करको दायरामा आएर नगरपालिकालाई सहयोग गरेमा नपाको आर्थिक क्षमता वृद्धि भई नगरबासीलाई सेवा सुविधा प्रदान गर्न सजिलो हुने बताउनुभयो । नपाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भैरवनाथ मन्दिर जीर्णोद्धार गरिरहेको बताउनुहुँदै यो सम्पन्न हुनेबित्तिकै पाँच तले मन्दिर पनि जीर्णोद्धार गर्ने उहाँले बताउनुभयो ।

उहाँले अग्रजहरुले राम्रो मनसायबाट सरसफाइ, पर्यटन, सम्पदा संरक्षण, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा कार्य सुरु गरेकोले अहिले भक्तपुर नपाले उदाहरणीय सफलता प्राप्त गरेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले अनुसन्धानमूलक शिक्षामा जोड दिंदै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरिरहेको बताउनुभयो । नगरको वर्तमान प्रमुख चुनौतीहरुको सम्बोधन हुने गरी व्यवसायीहरुबाट राय सुझाव प्राप्त हुने अपेक्षा राख्नुहुँदै व्यवसायीहरुले पनि आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित ९ जना उद्योगी, व्यवसायी तथा ब्यापारीहरूले नगर प्रवेश गर्ने प्रवेशद्वारमा सफा वातावरण तयार गर्नुपर्ने, नियमित सांस्कृतिक नाचगान प्रदर्शन गर्नुपर्ने, गःहिटीको नरसिंह मन्दिर जीर्णोद्धार गर्नुपर्ने, भक्तपुर दुधपाटीस्थित नःपुखुको वातावरण सुधार गरी आयआर्जन हुने गरी सदुपयोग गर्नुपर्ने, नगरमा पर्यटकहरुको बसाइ लम्ब्याउन कार्यक्रमहरु बनाउनुपर्ने, मल कारखाना खोल्नुपर्ने, बाराही पुल जीर्णोद्धार गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.