Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति र प्रधान सेनापतिबीच भेटघाट

२०७५ चैत्र १८ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सैनिक मुख्यालय काठमाण्डौमा भेटघाट भयो । भेटमा भनपा वडा नं. १ सल्लाघारीस्थित रानीपोखरी सर्वसाधारणको लागि खुल्ला गर्ने र सिद्धपोखरी उत्तर तर्फको खेल मैदान नगरबासीहरुको लागि प्रयोग गर्ने सम्बन्धमा छलफल भयो । प्रमुख प्रजापतिले ऐतिहासिक रानीपोखरी सर्वसाधारण जनताको लागि खुल्ला गर्न र पोखरीको जिर्णोद्धारको लागि नेपाली सेनाको पनि सहयोगको आशा व्यक्त गर्नुभयो ।

उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा हुने सरसफाइ कार्यक्रममा सेनाको सहयोगको लागि धन्यवाद दिनुभयो । रानी पोखरी जनताको सम्पति भएको र नेपाली सेना पनि जनताकै सेना भएको हुँदा नगरपालिका र नेपाली सेना बीचको समन्वय र सहकार्यमा रानी पोखरी मौलिक स्वरुपमै जिर्णोद्धार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले रानीपोखारीमा विभिन्न पुरातात्विक अवशेषहरु फेला परेको बताउनुहुँदै पोखरी परिसरमा पाटी र सत्तलको अवशेष भेटिएको र पुननिर्माणको क्रममा यसको पनि निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “पोखरी जिर्णोद्धारको लागि नगरपालिकाका प्राविधिक टोली खटाइने छ ।” –उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले “पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” नाराका साथ विश्व सम्पदामा सूचिकृत भक्तपुरका सम्पदाहरु संरक्षण गर्दै आएको बताउनुहुँदै उहाँले यसको अवलोकनको लागि वार्षिक लाखौं पर्यटकले भक्तपुर भ्रमण गर्ने जानकारी गराउनुभयो । प्रमुख प्रजापतिले भक्तपुरका दक्ष डकर्मी सिकर्मीले देश भरीकै विभिन्न स्थानका सांस्कृतिक सम्पदाहरु संरक्षण गर्न योगदान पु¥याउँदै आएको बताउनुहँुदै सम्पदाहरु क्षेत्र विशेषको नभई मानव सभ्यताकै अमूल्य निधि भएको हुँदा संरक्षण आवश्यक भएको बताउनुभयो ।

प्रधान सेनापति थापाले सेनाका सबै अधिकृतहरु भक्तपुरको खरिपाटी तालिम केन्द्रबाट प्रशिक्षित भई सेवा प्रवेश गर्ने भएकोले सेनाको भक्तपुरसँग विशेष सम्बन्ध भएको बताउनुभयो । उहाँले भक्तपुरको रानीपोखरी सेनाबाट सञ्चालित सैनिक आवाशीय महाविद्यालय परिसरमा रहेकोले यसको पुननिर्माणको लागि सेनाले आवश्यक सहयोग गर्ने बताउनुभयो । संरक्षण कार्य सेना र स्थानीय जनताले अपनत्व महशुस हुने गरी गर्नुपर्ने विचार व्यक्त गर्दै यसको लागि भक्तपुरलाई राम्रोसँग बुझ्ने मेजर जनरल (उपरथी) आनन्द कार्कीलाई जिम्मा दिएको बताउनुभयो ।
पुननिर्माण कार्य अगाडि बढाउन आवश्यक सहयोगको लागि उपरथी कार्कीसँगै सहकार्य गर्न भन्नुहुँदै प्रधान सेनापति थापाले “सेनाले समस्या सिर्जना गर्दैन र विकास निर्माण कार्यको लागि आवश्यक सहयोग गर्छ” भन्नुभयो ।

भेटमा प्रमुख प्रजापति, प्रधान सेनापतिका साथमा भनपा १ र ७ का वडाध्यक्षहरु क्रमशः श्यामकृष्ण खत्री र उकेश कवां, उपरथी आनन्द कार्की लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.