Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालयको भवन उद‌्घाटन

भक्तपुर, जेठ ७ गते मंगलबार ।

1

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष रोहितले बहुसंख्यक जनताको हितमा नगरपालिकाले आफ्नो गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुहुँदै उपभोक्ता समितिमा काम गर्नेहरूलाई हिसाबकिताब राख्ने विधि र खरिद ऐनबारे शिक्षित बनाई समितिमा बसेर काम गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

नक्सा पास र मापदण्डबारे सर्वसाधारण जनतालाई अभिमुखीकरण गर्दै जानुपर्ने र नगरभित्रका घर पुनःनिर्माण तथा नवनिर्माण नक्साबमोजिम नै बनाउन प्रेरित गर्नुपर्ने बताउनुभयो । सरुवा र नसर्ने रोगबारे जनतालाई सचेत पार्नुपर्छ भन्नुहुँदै अध्यक्ष बिजुक्छेँले बिचौलिया र दलालबाट सजग भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सम्पदा उत्खनन्‌मा सम्बन्धित नगरपालिका, प्रशासन र पुरातत्व विभागको सहभागिता अनिवार्य आवश्यक भएको बताउनुहुँदै नगरपालिकाका कर्मचारीहरूको वृत्ति विकास गर्दै विभिन्न तालिमहरू दिनुपर्ने बताउनुभयो ।

 

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदा निर्माणदेखि अन्य भौतिक संरचनाहरू निर्माण गर्दा स्थानीय जनताकै सहयोगमा उपभोक्ता समितिमार्फत गर्ने नीति लिंदै आएको बताउनुभयो । उहाँले विकास निर्माणको काम ठेक्कापट्टामा गराउँदा गुणस्तरहीन निर्माण भइरहेको उदाहरण ब्याप्त रहेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरबासी जनताको सेवा गर्नु भक्तपुर नगरपालिकाको उद्देश्य रहेको बताउनुहुँदै पुरातात्विक सम्पदा नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले निर्वाचित जनप्रतिनिधि आइसकेपछि भक्तपुरको विकास निर्माण र सामाजिक गतिविधि तीव्र रुपमा अगाडि बढेको औंल्याउनुहुँदै उहाँले उपभोक्ता समितिको काम मितव्ययी हिसाबले अगाडि बढिरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत गर्नुभएको थियो भने पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवट र श्याम बाटीलगायतले पनि आ–आफ्नो विचार राख्नुभएको थियो । १ नं. वडा समिति भवन निर्माण उपभोक्ता समितिका सदस्य केशव कोजुले भवन निर्माणको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

1 Comment
  1. Ajeyandra Laghu says

    bhavan kun sthan ma nirman vayo, kati talla ko banyo, kun sailee ko nirman bhayo, bhavan ka bishesta haru k k chan, kati samaye ma nirman sampnanna vayo, vanne kura haru ko pani jankari rakhnu vako vaye yo samachar ajha sun ma sugandha hunthyo ki!

Cancel Reply

Your email address will not be published.