Explore news and happenings at Bhaktapur

केदारनाथ मन्दिर उद्‍घाटन

भक्तपुर, जेठ ७ गते मंगलबार ।

0

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले मंगलबार भक्तपुर नपा वडा नं. ३ दरबार क्षेत्रमा अवस्थित पुरातात्विक एवम् ऐतिहासिक केदारनाथ मन्दिरको उद्‍घाटन गर्नुभयो ।

२०७२ सालको भूकम्पमा पूर्ण रुपमा क्षतिग्रष्त केदारनाथ मन्दिरको उद्घाटन समारोहमा बोल्नुहुँदै सांसद सुवालले भक्तपुर नगरलाई साँस्कृतिक नगर घोषणाको माग गर्नुहुँदै उपत्यका मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण र सम्बद्र्धनको आवश्कता औंल्याउनुभयो ।
ख्वप विश्वविद्यालय स्थापनाको लागि पुग्दो पूर्वाधार भएतापनि विधेयक छलफलमा नल्याइनुमा शासकहरुको पूर्वाग्राही सोच रहेको बताउनुहुँदै सांसद सुवालले ख्वप विश्वविद्यालयमा शासकहरुको मनोमानी गर्न नपाउने भएर सो विधेयक अगाडि नबढेको स्पष्ट पार्नुभयो । सम्पदा संरक्षण मानव सभ्यता विकासको प्रतीक हो र यो अन्धविश्वास होइन भन्नुहुँदै उहाँले बढ्दो सहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमीनको अभाव हुँदै गएको र अव्यवस्थित बस्ती विकास बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सांसदहरु भनेका विधेयक, कानुन र नीति नियम बनाउने जिम्मेवार व्यक्तिहरु भएको स्पष्ट पार्नुहुँदै सांसदलाई विकासको रकम बाँड्नु गलत भएको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले निर्धारित समय भन्दा अगावै केदारनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भएकोमा उपभोक्ता समितिलाई धन्यवाद प्रकट गर्नुहुँदै सम्पदा पुनःनिर्माणमा कहिल्यै अरुको भर नपरेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले पुनःनिर्माण र नवनिर्माणका कार्यलाई सँगसँगै अगाडि बढाइरहेको स्पष्ट पार्नुहुँदै सम्पदा पुनःनिर्माणमा हेलचेक्र्याई गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सम्पदा पुनःनिर्माणमा अध्ययन, अनुसन्धान र अन्वेषणको आधारमा गर्नुपर्ने बताउनुहुँदै राष्ट्रिय कला संग्रहालय र लाल बैठकलाई प्राचीन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्ने उद्देश्य नपाको रहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुर नपाले उपभोक्ता समिति मार्फत गरेका सम्पदा पुनःनिर्माण कार्य उल्लेखनीय रहेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले कम लागतमा गुणस्तरीय निर्माण भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा केदारनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण त्वायनाले मन्दिरको साँचो भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो ।
साथै कार्यक्रममा केदारनाथ उपभोक्ता समितिका अध्यक्ष र लायकु प्रवेशद्वार उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद गोराले पुनःनिर्माणको आय–व्यय प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.