भनपा वडा नं. ४ स्वास्थ्य स्वयम्सेविका परिचालन समितिको संयोजन र सामुदायिक आँखा अस्पताल केन्द्र च्याम्हासिंगको प्राविधिक सहयोगमा शनिबार आँखा शिविर भयो ।
उक्त शिविरमा ३७६ जनाले आँखा परीक्षण गराएका थिए । त्यसमध्ये १३ जनाको मोतीबिन्दु र तीन जनाको आँखामा मासु पलाएकोले शल्यक्रिया गर्नुपर्ने बताइएको छ ।
आँखा शिविरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरलाई सफा, स्वच्छ र सांस्कृतिक नगर र शिक्षाको ज्ञान विज्ञानको केन्द्र बनाउने, स्वीकृति भएको २५ शय्याको ख्वप अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न भवन निर्माण भइरहेको बताउनुभयो ।
तीलगंगा आँखा अस्पतालसँग भक्तपुर नगरपालिकाले समन्वय गरी जनस्वास्थ्य केन्द्र च्याम्हासिंगमा नियमितरूपमा आँखा परीक्षण, कम मूल्यमा शल्यक्रिया, विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूलाई सहुलियत दरमा शैक्षिक ऋण दिंदै आएको बताउनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले वडावासीहरूलाई शैक्षिक ऋण, विपन्न वर्गलाई स्वास्थ्य परीक्षणमा सरकारले छुट दिइरहेको बताउनुभयो ।
उक्त समितिका सल्लाहकार उपेन्द्र सुवालले आँखालाई बचाउन आँखाको अभ्यास गर्नुपर्ने, पोषिलो खानेकुरा खानुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्यकर्मीको आन्दोलनले बिरामीलाई प्रत्यक्ष असर परेकोले बिरामीको जीउ ज्यानको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रम समितिका संयोजक, वडा नं. ४ का महिला सदस्य तथा कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा कृष्णगोविन्द दुवाल, बुद्धलक्ष्मी त्वायना र स्टाफ नर्स बिमला कुम्पाखले पनि बोल्नुभएको थियो ।