Explore news and happenings at Bhaktapur

ख्वप माविमा कक्षा १२ अध्ययन पूरा गरेका विद्यार्थीहरूको बिदाइ कार्यक्रम

भक्तपुर, २०७६ वैशाख २७ गते, शुक्रबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा कानुन र फाइन आर्ट (चित्रकला) विषयको आवश्यकता औंल्याउनुहुँदै नयाँ पुस्ताका विद्यार्थीहरूलाई भूगोल, राजनीतिशास्त्र, इतिहास र कला संस्कृति जस्ता विषय अध्ययन गर्न प्रेरित गर्दै लानुपर्ने बताउनुभयो ।

ख्वप माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०७५—७६ मा कक्षा १२ अध्ययन पूरा गरेका विद्यार्थीहरूको बिदाइ कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले संविधान बनाउने जिम्मेवार व्यक्तिहरूले संविधानको मर्म थाहा नपाउँदा देशको स्थिति अस्तव्यस्त भएकाे बताउनुभयो ।

कला र संस्कृतिमा धनी भक्तपुर नगरको संरक्षण र प्रवर्धनको निम्ति चित्रकला, काष्ठकला, धातुकला, मृत्तिकला आदिको संग्रहालयको आवश्यकता औंल्याउनुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरका खेलमैदानहरूको स्तरोन्नति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा ठूलो नाचघर र सभाभवन बनाउन भक्तपुर नगरपालिकाले अगुवाई गर्नुपर्ने बताउनुहुँदै कुनै व्यक्तिको नाममा नगर, सडक मार्ग र विश्वविद्यालय तथा कलेजको नाम राख्नु उपयुक्त नभएको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा कलेजहरू व्यापारिक ढंगले खोलिएका निजी कलेजहरूको विरुद्धमा खुलेका शैक्षिक संस्थाहरू भएको बताउनुहुुँदै निजी शैक्षिक संस्थाहरुले शिक्षाको नाममा लाखौं विद्यार्थीहरूलाई ठगिरहेको बताउनुभयो ।

देशमा नक्कली प्रमाणपत्रको बिगबिगी बढिरहेको औंल्याउनुहुँदै सांसद सुवालले सरकारको विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूकै कारण देशमा अनियमितता र भ्रष्टाचारको घटनाहरू बढिरहेको स्पष्ट पार्नुभयो ।

शिक्षालाई उत्पादन श्रमसँग जोड्ने गरी ख्वप विश्वविद्यालय स्थापनामा जोड दिने बताउनुहुँदै सांसद सुवालले ख्वप विश्वविद्यालयलाई पुँजीवाद र साम्राज्यवादविरुद्ध लड्ने विश्वविद्यालयको रुपमा स्थापित गर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरको सन्तुलित विकासमा जोड दिंदै शिक्षा क्षेत्रलाई नमुनाको रुपमा प्रस्तुत गर्ने उद्देश्य नगरपालिकाले बोकेको बताउनुहुँदै विद्यार्थीहरूले युग सुहाउँदो शिक्षा हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

राज्यले शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिशुस्याहारदेखि विश्वविद्यालयको शिक्षा प्रदान गर्ने र देशको निम्ति आवश्यक दक्ष जनशक्ति तयार गर्ने लक्ष्य बोकेको बताउनुभयो ।

सांसदहरू देशका कानुन निर्माता भएको बताउनुहुँदै प्रमुख प्रजापतिले सांसदहरू देशको लागि आवश्यक कानुन निर्माण गर्न छोडेर विकासे कार्यकर्ताको रुपमा परिचालित हुनु गलत भएको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख एवम् कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन नगरपालिकाद्वारा सञ्चालित कलेजहरू महत्वपूर्ण योगदान पुर्याउने बताउनुहुँदै विभिन्न विषयको शिक्षा भक्तपुरमै उपलब्ध भएको बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य रत्नसुन्दर लासिवा, ख्वप ई. कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ ई. का प्राचार्य सुनिल दुवालले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.