नगर प्रमुख सुनिल प्रजापतिसँग प्याब्सनका प्रतिनिधिहरूको भेट
२०७६ वैशाख २३ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार प्याब्सनका प्रतिनिधिहरूले भेट गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकासमा सामुदायिक र निजी विद्यालयको भूमिका उल्लेखनीय भएको बताउनुहुँदै विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञान सँगसँगै व्यवहारिक र सेवा गर्ने भावनाको विकास गर्नुपर्ने बताउनुभयो ।
निजी विद्यालयको योगदान र भूमिकाबारे चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले कानुन र संविधानको पालना सबैको हितमा हुने र सबैले त्यसको पालना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
वर्तमान सरकारले पुँजीमार्फत् देशलाई आफ्नो नियन्त्रणमा लिन खोज्नु गलत भएको बताउनुहुँदै प्रमुख प्रजापतिले शिक्षा व्यापार होइन, सेवा हो र शिक्षा र स्वास्थयमा राज्यले बढी लगानी गरी सबै जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक गुणस्तर राम्रो भएको विद्यालय नै विद्यार्थीको पहिलो रोजाइँ हुने बताउनुहुँदै प्रमुख प्रजापतिले राजनीतिशास्त्र, इतिहास, भूगोल, संस्कृति पढ्ने विद्यार्थीको लागि भक्तपुर नगरपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।
भेटमा प्याब्सन भक्तपुर नगर अध्यक्ष रमेशचन्द्र श्रेष्ठले भक्तपुर नगरपालिका नगर शिक्षा शाखाले निर्धारण गरेको शुल्क प्रस्ताव र छात्रवृत्तिबारे जिज्ञासा व्यक्त गर्दै गुणस्तरीय शिक्षाको लागि शुल्क व्यवस्थापन आवश्यक भएको, छात्रवृत्ति पाउने विद्यार्थीको पहिचान आवश्यक भएको र शुल्क निर्धारणले भक्तपुरका विद्यालयहरू सञ्चालनमा कठिनाई हुन नहुनेलगायतका विचार प्रस्तुत गर्नुभयो ।
एभरेष्ट इ. स्कूलका प्रिन्सिपल भक्तराज भण्डारीले भक्तपुरका विद्यालयहरूले अन्य क्षेत्रको भन्दा कम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र विद्यार्थीलाई प्रदान गरिएको सेवा सुविधा पनि स्तरीय भएको बताउनुभयो । अभिभावकले तिर्न सक्ने शुल्क निर्धारण विद्यालयहरूले गर्नुपर्ने बताउनुहुँदै उहाँले शिक्षकहरूको स्तर अभिवृद्धि गर्न विभिन्न तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

