Explore news and happenings at Bhaktapur

सृजनानगरका ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रम

भक्तपुर । २०७६ वैशाख २० गते, शुक्रबार

0

इशानेश्वर मन्दिर क्षेत्र विकास तथा संरक्षण उपभोक्ता समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. १ सृजनानगरको इशानेश्वर मन्दिर प्रा·णमा मातातीर्थ औंसीको अवसर शुक्रबार ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रम सम्पन्न भयो ।

ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यले कर्मचारीहरुलाई जस्तै कानुन बनाएर मजदुर–किसानहरुको लागि पनि पेन्सनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । कर्मचारीहरुले राज्यको काम गरेबापत पेन्सन पाउँछ, तर मजदुर वर्गलाई लक्षित उपलब्धीमूलक कार्यक्रम नभएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतनको बन्दोबस्त गर्ने तयारी गरिरहेको र नगरबासी ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता सबै वडा कार्यालयहरुमा जनप्रतिनिधिमार्फत वितरण गरिदैं आएको जानकारी दिनुभयो ।

सिंहदरबार, बालुवाटारजस्ता देशका प्रमुखहरु बस्ने सार्वजनिक जग्गा व्यक्तिको नाममा हुनुु र अपराधी– कालाबजारीको संरक्षण हुनु पुँजीवादी व्यवस्थाको विकृती भएको बताउनुहुँदै प्रमुख प्रजापतिले पुँजीवादी व्यवस्था कामदार वर्गको हितमा नहुने बताउनुभयो ।

ज्येष्ठ नागरिकको त्याग र बलिदानले समाज व्यवस्थित ढंगले अगाडि बढ्ने बताउनुहुँदै प्रमुख प्रजापतिले समाज र देशको निम्ति निःस्वार्थ रुपमा काम गर्नेहरुको समाजमा सम्मान हुनुपर्ने बताउनुभयो । प्रमुख प्रजापतिले वर्तमान सरकारप्रति जनताको विश्वास घट्दै गएको बताउनुहुँदै नक्कली कम्युनिष्टहरुले गरिब जनताको हितमा ऐन–कानुन नबनाउने प्रस्ट पार्नुभयो ।

अग्रज नागरिक समाजका अध्यक्ष महाप्रसाद पराजुलीले भक्तपुर जिल्ला देशकै सानो जिल्ला भएर पनि सबैको लागि अनुकरणीय कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अग्रज नागरिक समाजका प्रवक्ता गोविन्द निरौला, दिवनाथ चापागाइँलगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले आमाको सम्मानमा कविता वाचन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.