Explore news and happenings at Bhaktapur

युवाहरू विदेशिंदा पुँजीपति वर्ग र विदेशी दलाललाई फाइदा

भक्तपुुर, २०७६ वैशाख १७ गते, मंगलबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले वर्तमान सरकार पुँजीपति वर्गको हितमा बनेको सरकार भएकै कारण व्यापक श्रमिक वर्गको हित हुने नीति ल्याउन नसकेको बताउनुभयो । उहाँले बहुमत प्राप्त सरकार र राजनीतिक पार्टीले गलत र जनविरोधी ऐन–कानुन बनाएका कारण कामदार वर्गको राजनैतिक अधिकार र मजदुर हकहितका कुराहरू गौण बन्दै गइरहेको बताउनुभयो ।

नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समितिको आयोजनामा मंगलबार १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कर्मचारी भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छे‌ँले नेपाल सरकारले नेपाली युवालाई विदेशमा आधुनिक दास बनाई कामदारहरूलाई सस्तो ज्यामीको रूपमा शोषण गर्न दिंदै छ भन्नुभयो । उहाँले नेपाली युवाहरू विदेशमा जाँदा पुँजीपति वर्ग र विदेशी दलाललाई फाइदा भइरहेको बताउनुहुँदै पुँजीवादी व्यवस्थामा गलत कामको परिणाम पनि सधैं गलत नै हुने बताउनुभयो ।

मजदुरहरूको बौद्धिक स्तर र शारीरिक विकासको लागि अध्ययन र शारीरिक व्यायामको आवश्यकता औंल्याउनुहुँदै कार्यालय सहयोगी र सफाइ मजदुरहरूले सरसफाइमा ध्यान दिई मद्यपान र मादक पदार्थ सेवनजस्ता कुलतबाट टाढा हुनुपर्ने बताउनुुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नक्कली कम्युनिष्ट सरकारले निजी संस्थाको सञ्चालक समितिको रुपमा काम गरिरहेको र निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने पुँजीवादी व्यवस्थाको विशेषता रहेको बताउनुभयो । वंशजको आधारमा नागरिकता पाएकालाई जन्मको आधारमा नागरिकता दिनु गलत भएको बताउनुहुँदै प्रमुख प्रजापतिले विदेशीलाई सहजै नागरिकता वितरण गर्दा देशको सार्वभौमिकता गुम्नुका साथै विदेशीहरूले नै शासन गर्न सक्ने खतरा हुने बताउनुभयो ।

नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले पुँजीवादी पार्टीले गरेका कुकृत्यबारे कामदार वर्गलाई सचेत गर्नु र संगठित बनाउनु आवश्यक भएको र सफाइ मजदुरहरू स्वस्थ भए मात्रै जनताको सेवा गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले कामदार वर्गको हक अधिकारको सुनिश्चितताको निम्ति राजनीति र वर्गीय रुपमा सचेत र संगठित हुनुपर्ने बताउनुहुँदै राज्यले युवा लक्षित गतिविधि गर्दा विदेशी भूमिमा श्रम पसिना बगाएर विदेशी भूमिमा रमाउने युवाहरूको संख्या बढिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर संघका अध्यक्ष राजेन्द्र चवालले मई दिवसको इतिहास र मजदुर आन्दोलनको पृष्ठभूमिबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समितिका अध्यक्ष काजीबहादुर पञ्च, उपाध्यक्ष राजन जति र दिलिपकुमार सुवालले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.