Explore news and happenings at Bhaktapur

भक्तपुरको रानीपोखरी परिसर सरसफाइ

२०७६, वैशाख १५ गते, आइतबार

0

भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित रानीपोखरी परिसरको सरसफाइ गरेको छ । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिंदै वैशाख १५ गते भक्तपुरको रानी पोखरी परिसरमा भक्तपुर नपाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, टीम–क्लब, विद्यालय, स्थानीय र सेनाको संयुक्त प्रयासमा सरसफाइ गरिएको हो । काठमाडौंको रानी पोखरीभन्दा ४० वर्ष पुरानो भक्तपुरको रानीपोखरी ऐतिहासिक रुपले महत्वपूर्ण पोखरी हो ।

उक्त स्थानमा भक्तपुरका स्थानीय प्रजापति समुदायलगायतका दुगु द्यो पनि भएको हुँदा पोखरी परिसरको सरसफाइमा भक्तपुर नपा वडा नं. १ स्थित विभिन्न गुठिका गुठियारहरूको सहभागिता रहेको थियो ।

रानी पोखरी सरसफाइ कार्यक्रम अवलोकनमा आउनुभएका अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले सम्पदा पुनःनिर्माण र संरक्षणमा अरु ठाउँमा भन्दा भक्तपुरमा व्यवस्थित र उल्लेखनीय कार्य भएको बताउनुहुँदै भक्तपुरका ऐतिहासिक ठाउँहरूको मौलिक नामलाई बचाइ राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सार्वजनिक स्थलको अतिक्रमण हुनबाट जोगाउन सम्बन्धित निकाय सचेत हुनुपर्ने र सम्पदा पुनःनिर्माणको कार्य ठेकेदारबाट बनाउन लगाउनु अनुचित हुने बताउनुभयो । उहाँले पुरातात्विक महत्वका मन्दिर र सम्पदा पुनःनिर्माणमा विज्ञहरूको राय–सुझाव महत्वपूर्ण हुने बताउनुहुँदै विवाद नआउने गरी प्राप्त प्रमाणकै आधारमा परम्परागत शैलीमा सम्पदा पुनःनिर्माण हुनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय चाड देवाली पूजा (दिगु पुजा) नजिकिंदै गएको अवस्थामा यस ठाउँको सरसफाइ कार्यलाई निरन्तरता दिएको बताउनुहुँदै भक्तपुरको रानीपोखरी जनताकै ठाउँ भएको र यो ठाउँको नाप नक्सा गरी पुराना भेटिएका तस्बीरहरूका आधारमा पुरानै शैली र परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनःनिर्माण गर्न सम्बन्धित निकायस“ग छलफल भइरहेको बताउनुभयो । रानी पोखरी पुनःनिर्माणमा केही प्राविधिक समस्या भएको बताउनुहुदै उहा“ले रानीपोखरीलाई पुनःजीवन दिने प्रयासमा नगरपालिका अग्रसर रहेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले सरसफाइ कार्यक्रमको निरीक्षण गर्नुभएको थियो । भक्तपुर नगरपालिकाले यो समेत स्थानीय जनता, टीम–क्लब, दाफा–भजन, विद्यालय, सेना, गुठीलगायतको सहयोगमा ३ पटक सफाइ गरिसकेको छ । सरसफाइ कार्यक्रममा प्रजापति समुदायका त गुठी, थिला गुठी, चुकु गुठी, न्हु गुठी, मारी गुठी र ख्वँ रे गुठीलगायतको उपस्थिति रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.