Explore news and happenings at Bhaktapur

भक्तपुर नपामा नयाँ प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई स्वागत

२०७५ चैत ११ गते, सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपामा खटी आउनुभएका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई सोमबार एक समारोहबीच भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।

आज आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको उद्देश्य जनताको सेवा गर्ने र देशको उत्कृष्ट नपाको रुपमा स्थापित गर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिले बनाएको नीति सही तरिकाले कार्यान्वयन भए नगरपालिकाको हरेक काम सफल हुने बताउनुभयो ।

भ्रष्टाचारविरोधी आन्दोलनको इतिहास बोकेको भक्तपुरका जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले आर्थिक अनुशासनमा रही पार्टीको घोषणापत्रलाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अगाडि बढाएको चर्चा गर्नुभयो । भक्तपुर नगरपालिकाले विकास निर्माणको कार्य ठेक्कामा नभई उपभोक्ता समितिमार्फत् गरी बलियो संरचना बनाउँदै स्थानीय जनताको अपनत्व कायम हुने गरी काम गरिरहेको बताउनुभयो ।

सबै क्षेत्रमा भागबण्डा गरी खाने सोचकै कारण देशको कहालीलाग्दो स्थिति उत्पन्न भएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले मूर्त–अमूर्त सम्पदाले भरिएको भक्तपुर नगरलाई ज्ञानविज्ञान र साँस्कृतिक केन्द्र बनाउँदै स्वच्छ, पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरवासीको हितमा घरदैलो नर्सिङ सञ्चालन गरेको, नियमित सरसफाई र भक्तपुरमै आँखा अस्पतालसहितको ख्वप अस्पताल खोल्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

भक्तपुर नपामा खटी आउनुभएका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुरले नियमसंगत काम गरिरहेको बताउनुहुँदै साँस्कृतिक नगर निर्माणको निम्ति प्रतिबद्ध भइ जनप्रतिनिधिहरुलाई सहयोग गर्ने बताउनुभयो । विभिन्न स्थानीय निकायमा काम गरेको अनुभव सुनाउनुहुँदै उहाँले भक्तपुर नगरपालिकाले देशकै उदाहरणीय र अनुकरणीय कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका योजना प्रमुख रामगोविन्द्र श्रेष्ठ, निवर्तमान प्र.प्र.अ. रोहितराज पोखरेल, नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवा, भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि आ—आफ्नो विचार राख्नुभएको थियो ।

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.