Explore news and happenings at Bhaktapur

बागीश्वरी माविको हीरक जयन्ती

२०७५ फागुन २३ गते, बिहीबार

0

 

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विद्यार्थीहरूलाई इतिहास र भुगोलको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।

वागीश्वरी माध्यमिक विद्यालयको ६० औं (हिरक जयन्ती) तथा वागीश्वरी कलेजको ११ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि बिजुक्छेँले विद्यालय र कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्नुहुँदै अन्तर्राष्ट्रिय विषय र देशको इतिहासबारे जानकार गर्न विद्यार्थीहरूमा भूगोल र इतिहासको अध्ययन आवश्यक भएको बताउनुभयो ।

पदमा पुगेका व्यक्तिहरूसँग भूगोलको ज्ञान नहुनु भनेको उनीहरूको शैक्षिक योग्यतामै खोट भएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले विद्यार्थीको कमजोरीमा प्रमुख जिम्मेवार विद्यालय र शिक्षक हुने बताउनुभयो ।
नैतिकताको विषयमा विद्यालयस्तरदेखि राम्ररी अध्यापन गराउनुपर्ने, देश र जनताको अहित हुने काम गर्नबाट खबरदारी गर्ने र विद्यार्थीहरूलाई निःस्वार्थ रुपमा देशको हितमा काम गर्न अभिप्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो । शिक्षकहरूले पाठ्यक्रम बोहकका अतिरिक्त शिक्षा र देशभक्तिपूर्ण नैतिक शिक्षा विद्यार्थीहरूलाई सिकाउनु आवश्यक भएको बताउनुभयो ।

चुनाव जितेकै भरमा बहुमत प्राप्त गरेका शासक दलले विदेशी दलालको रुपमा काम गरिरहेको छ । उहाँले अयोग्य व्यक्तिहरूले सरकार सञ्चालन गरिरहेको आरोप लगाउनुभयो । ‘राजनीति’ शब्दलाई गलत रुपमा व्याख्या गरिएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ सेवा गर्नु नै राजनीति गर्नुको प्रमुख उद्देश्य भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले वागीश्वरी कलेजको उद्देश्य विद्यालय र कलेजबाट उत्पादित जनशक्तिले २१ औं शताब्दीको लागि योग्य जनशक्ति तयार गर्नु रहेको बताउनुभयो ।
स्थानीय तहलाई केन्द्रमार्फत सञ्चालन गर्न खोज्नु प्रतिगामी सोच रहेको बताउनुहुँदै केन्द्रले सबै काम गरोस् भन्ने मानसिकता गलत भएको र स्थानीय तहलाई केन्द्रकै निर्देशनमा चलाउने सम्भावना भएको प्रमुख प्रजापतिले बताउनुभयो ।

नेमकिपा प्रदेश नं. ३ का प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्ने र खेलकुद गतिविधिलाई व्यापक बताउनुपर्ने बताउनुभयो । सामुदायिक शिक्षामा सरकार आलोचित भइरहेको बताउनुहुँदै सांसद गोसार्इंले विद्यालयले विद्यार्थीहरूको अनुशासन र क्षमता विकासमा ध्यान पु¥याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयले ध्यान दिंदै वागीश्वरीलाई नमुना विद्यालयको रुपमा अगाडि बढाउने लक्ष्य बोकेको बताउनुभयो ।

वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा ख्वप इ. कलेजका प्राचार्य सुजन माक, भक्तपुर जिल्लाका प्रजिअ नारायणप्रसाद भट्ट, वागीश्वरी माविका उपप्रअ ज्ञानसागर प्रजापति, साहित्यकार हरिहर तिमिल्सिना, विद्यार्थी प्रतिनिधि सुजि हेंगोजु, कलेजका विद्यार्थी प्रतिनिधि सिद्धान्तरत्न बज्राचार्य, अभिभावक संघका अध्यक्ष न्हुछेबहादुर कासिछ्वालगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सोही समारोहमा कार्यक्रमका प्रमुख अतिथि नारायणमान बिजुक्छें (रोहित)ले वागीश्वरी विद्यालयको स्मारिका र कलेजको जर्नल विमोचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूबाट विभिन्न शैक्षिक सत्रमा उत्कृष्ट हुन सफल विद्यार्थी, कर्मचारी, शिक्षक–शिक्षिकालगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । २५ वर्ष निरन्तर सेवारत शिक्षिका प्रेमलक्ष्मी श्रेष्ठलाई दीर्घसेवाबाट सम्मान गरिएको थियो । प्रमुख अतिथि बिजुक्छेंले जनकवि चन्द्रबहादुर उलक, साहित्यकारद्वय हरिहर तिमिल्सिना र चन्द्रप्रसाद ढकाललाई पनि सम्मान गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.