Explore news and happenings at Bhaktapur

दमखोकी रोगको पुनःस्थापना केन्द्रसम्बन्धी छलफल

२०७५ फागुन १६ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जापानी अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्थान (जीआईएमटीईएफ) का अध्यक्ष डा. शिगेकी हायासी नेतृत्वको चिकित्सक टोलीले बिहीबार नगरपालिका सभाकक्षमा भेट भयो । भेटमा भक्तपुर नगरमा श्‍वासप्रश्‍वास (दम) सम्बन्धी रागका बिरामीहरूलाई फिजियोथेरापी विधिमार्फत उपचार गर्ने छाती पुनःस्थापना केन्द्र सञ्चालन गर्ने विषयमा छलफल भएको बताइएको छ ।


छलफलमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगर ऐतिहासिक र सांस्कृतिक नगर भएको जानकारी गराउँदै सम्पदा संरक्षण र नगरको मौलिक स्वरूप जोगाउन परम्परागत शैलीमा घर निर्माणको लागि नगरवासीहरूलाई प्रोत्साहित गरिरहेको बताउनुभयो ।
२०७२ सालको विनाशकारी भूकम्पबाट पीडित जनतालाई जापानी सरकार र जनताको तर्फबाट सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गर्दै प्रमुख प्रजापतिले नगरपालिका आफैले ख्वप अस्पताल सञ्चालन गर्ने तयारीका साथ भवन निर्माण गरिरहेको जानकारी दिनुभयो ।
जिम्टेफको प्राविधिक सहयोगमा छाती पुनःस्थापना केन्द्र सञ्चालन गर्ने तयारीले दम रोगीहरूको उपचारमा उल्लेख्य सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
जिम्टेफका अध्यक्ष डा. हायासीले भक्तपुरमा सन् २०१५ देखि दम रोगीहरूको विषयमा नगरपालिका र जनस्वास्थ्य केन्द्रस“ग समन्वय गरी अध्ययन गरिरहेको चर्चा गर्दै नेपालमा पहिलोपटक भक्तपुरमा छाती पुनःस्थापना केन्द्र सञ्चालन गर्न आफ्नो संस्थाले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहा“ले केन्द्र सञ्चालन गर्ने विषयमा बुधबार नेपालस्थित जापानी दूतावासमा जिम्टेफ र नेपालका लागि जापानी राजदूतबीच हस्ताक्षर सम्पन्न भएको अवगत गराउनुभयो ।

छाती पुनःस्थापना केन्द्र भवन निर्माणको लागि भक्तपुर नगरपालिकाले तुमचो क्षेत्रमा आफ्नै जग्गामा तीनतले भवन निर्माण गर्न नक्सा पास गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट स्वीकृतसमेत प्राप्त गरेको छ । आगामी एक वर्षभित्र उक्त भवन निर्माण सम्पन्न गर्ने र भक्तपुरको मौलिक शैलीमै भवन बनाउने प्रमुख प्रजापतिको कथन थियो ।
भवन निर्माण सम्पन्न भएपछि जिम्टेफको तर्फबाट फिजियोथेरापी विधिमार्फत दम रोगको उपचार गर्न आवश्यक उपकरणहरू जडान गरिसक्ने डा. हायासीले प्रस्ट पार्नुभयो । उपचारका लागि नगरपालिकामार्फत उपलब्ध गराइने चिकित्सक एवम् प्राविधिक जनशक्तिलाई जिम्टेफकै चिकित्सकहरूले उपचारसम्बन्धी तालिम सञ्चालन गर्नेछन् ।
प्राविधिक जनशक्तिलाई सीप हस्तान्तरण गरेपछि बिरामीहरूको उपचार थालिने नगरपालिका स्रोतले जानकारी दिएको छ ।
बिहीबार नगरपालिका सभाकक्षमा दुई पक्षबीच भएको भेटमा नगरपालिकाको तर्फबाट उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, उकेश कवां र महेन्द्र खायमली तथा नगरपालिकाका प्रशासन प्रमुख अम्बिका धौभडेल, पर्यटन शाखा प्रमुख गौतमप्रसाद लासिवा र दामोदर सुवालको उपस्थिति थियो । त्यसैगरी जिम्टेफको तर्फबाट डा. मि कुनी, फिजियोथेरापिस्ट साटो, मोरिको मायदा, लक्ष्मण शाही, दीना प्रधान र स्टेला शाक्य पनि छलफलमा सहभागी थिए ।
भेटपछि जिम्टेफका चिकित्सक टोलीले भनपा वडा नं. ९ तुमचोस्थित छाती पुनःस्थापना केन्द्र निर्माणस्थल, ख्वप अस्पतालको भवन निर्माणस्थल र च्याह्मासिंह जनस्वास्थ्य केन्द्रमा स्थलगत अवलोकन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.