Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जन

२०७५ फागुन १४ गते, मंगलबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग मंगलबार गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जनको नेतृत्वमा आएको टोलीले भेट गर्‍यो । भेटमा भक्तपुर नगरपालिकाबाट सञ्चालित र सम्पन्न योजना तथा कार्यक्रम, विकास निर्माण र सम्पदा पुनःनिर्माण र सांस्कृतिक गतिविधिबारे छलफल भयो ।


प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय सञ्चालन गरी चिकित्साशास्त्र अध्ययनको लागि कम शुल्कको व्यवस्था गर्ने, ख्वप अस्पताल निर्माण कार्य अमानत र जनसहभागितामा निर्माण कार्य सञ्चालन भइरहेको, विदेशी सहयोग विना नै भक्तपुरका सम्पदा पुनःनिर्माणको कार्य अगाडि बढिरहेको जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले आर्थिक नियम र अनुशासनलाई प्राथमिकता दिई गुणस्तरीय निर्माणमा जोड दिएको बताउनुहुँदै प्रमुख प्रजापतिले डकर्मी र सिकर्मीको तालिम पनि नगरपालिका स्वयम्ले सञ्चालन गर्दै आएको बताउनुभयो ।
भेटमा प्रमुख प्रजापतिले काठमाडौं उपत्यकाका पाँचवटा ऐतिहासिक नगरपालिकाहरूबीच भएको संयुक्त बैठकले काठमाडौं उपत्यकामा अवस्थित पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेका संरचनाहरू जनसहभागिता जुटाई पुनःनिर्माण गर्ने, प्राप्त ऐतिहासिक प्रमाणहरूको आधारमा अध्ययन अनुसन्धान गर्दै परम्परागत मौलिक शैलीमा पुनःनिर्माण गर्ने र काठमाडौं उपत्यकालाई सांस्कृतिक संरक्षित केन्द्र घोषणा गराउने निर्णयहरू गरेको र त्यसको सकारात्मक सन्देश गएको जानकारी दिनुभयो ।
भेटमा गोदावरी नपा प्रमुख गजेन्द्र महर्जनले गोदावरी नपा उपत्यकाको ठूलो नपा भएको, नेवार बस्तीको बाहुल्यता भएको र सांस्कृतिक महत्त्व बोकेको नगरपालिका भएको बताउँदै अनुभवको कमीले काम गर्न असहज भएकोले अनुभव आदानप्रदानको आवश्यकता भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा उपलब्धीपूर्ण काम गरिरहेको बताउनुहुँदै प्रमुख महर्जनले गोदावरी नपाका अधिकांश सम्पदा नेपाल सरकारको सहयोग र पुरातत्व विभागले पुनःनिर्माण भइरहेको बताउनुभयो । उहाँले सांस्कृतिक प्रतियोगिता गर्ने तयारी गरिरहेको जानकारी दिनुहुँदै भक्तपुरको अनुभवले सहयोग पुग्ने बताउनुभयो ।
भेटमा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, गोदावरी नपा वडा नं. १४ का वडाध्यक्ष जगनाथ महर्जन, वडा नं. ११ का निलबहादुर देशार, १२ नं. वडाका जगतबहादुर महर्जन आदिको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.