Explore news and happenings at Bhaktapur

अन्तरनगर कराँते प्रतियोगिता २०७५ फागुन ५ गतेदेखि ८ गतेसम्म हुने

भक्तपुर, २०७५ माघ २४ गते, बिहीबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा सहिद दिवसको अवसरमा २०७५ फागुन ५ गतेदेखि ८ गतेसम्म हुने अन्तरनगर कराँते प्रतियोगिताबारे पत्रकार सम्मेलन बिहीबार सम्पन्न भयो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहिदहरूको सम्झनास्वरुप नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिताको आयोजना गरेको र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्नु नपाकाे उद्देश्य रहेको बताउनुभयो । युवाहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढाउन नगरपालिकाले फुटबल, भलिबल, बक्सिङ, कराँते र टेबुलटेनिस खेलहरूको प्रशिक्षण दिंदै आएको उहाँले बताउनुभयो ।
नगरका दशवटै वडामा वडा खेलकुद समितिहरू गठन गरी खेलकुद गतिविधिहरूलाई वडागत तहमा व्यापक बनाएको बताउनुहुँदै प्रमुख प्रजापतिले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्ने तयारीस्वरुप यस वर्ष २०७५ फागुन ५ देखि ८ गते अन्तर नगर कराँते प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो – ‘भक्तपुर नगरपालिकाको प्रशासन पारदर्शी र जावफदेही बनाउन नगरपालिकाका गतिविधिहरू भक्तपुर मासिक, भक्तपुर खबरडट कम, ख्वप पौ, ख्वप सः लगायतका सञ्चारमाध्यममार्फत् प्रचासप्रसार गरिरहेका छौं । अनलाइनमार्फत् नगरपालिकाको प्रशासनिक सेवा पनि अगाडि बढेको छ ।’

भक्तपुर नगरपालिकाले खेलकुदलाई मौलिक हकको रुपमा राखेको बताउनुहुँदै प्रमुख प्रजापतिले एकजना व्यक्ति भन्दा पनि सिंगो समाजलाई अगाडि बढाउन र अनुशासित नागरिक तयार गर्न भक्तपुर नगरपालिका लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गरी भक्तपुरको मात्रै होइन, देशको नाम संसारभर चिनाउने हाम्रो उद्देश्य  हो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नयाँ पुस्ताका युवालाई देश र समाजप्रति उत्तरदायी बनाउन खेलकुद प्रतियोगिताको आवश्यकता रहेको र खेलकुदको माध्यमबाट अनुशासन कायम राख्न, स्वस्थ नागरिक तयार गर्न र सार्वभौमिकता रक्षा गर्ने देशभक्त नागरिक तयार गर्ने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खेलकुदको स्तर वृद्धि गर्न नगरभित्र उपलब्ध सहिद स्मृति खेल मैदान र महेश्वरी खेलमैदानको व्यवस्थित विकासको योजना तयारी भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाअध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा हुने अन्तर नगर कराँते प्रतियोगितासम्बन्धी प्रेस विज्ञप्ति जारी गर्नुहुँदै उपस्थित पत्रकारहरूमा प्रतियोगिताबारे प्रचारप्रसारको निम्ति आह्‍वान गर्नुभयो ।

फागुनमा सम्पन्न हुने कराँते प्रतियोगितामा अहिलेसम्म प्राप्त जानकारीअनुसार १८ वटा नगरपालिकाले भाग लिन नाम दर्ता गराई सकेको र नाम दर्ता गर्ने समय माघ २५ गतेसम्म रहेको तथा प्रतियोगिताको लागि नपाले रु. २८ लाख विनियोजन गरेको आयोजक समितिले जानकारी दियो ।

Leave A Reply

Your email address will not be published.