ख्वप माविमा कार्यरत रही अनिवार्य अवकाश पाउन सफल कार्यालय सहयोगी भैरवबहादुर थापालाई शुक्रबार विद्यालयले बिदाइ एवम् सम्मान कार्यक्रमको आयोजना गर्यो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अवकाश प्राप्त थापालाई कार्यक्रममा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सेवामा प्रवेश गरेपछि एक दिन अवकाश हुनु स्वाभाविक भएको चर्चा गर्दै कानुनको परिधिभित्र रही इमानदारीपूर्वक सेवा गर्न सके उदाहरणीय र अनुकरणीय हुने बताउनुभयो ।
“एक जनाको गल्तीले सिङ्गो संस्था र संस्थासँग सम्बन्धित नेतृत्वमाथि प्रश्न उठ्ने भएकोले संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू सबैले इमानदारीपूर्वक पदीय दायित्व निर्वाह गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
शिक्षा र स्वास्थ्यमा भनपाले गरेको योगदानलाई सिङ्गो देशको लागि उदाहरणीय कार्य भइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले नेमकिपाका अग्रज नेता र कार्यकर्ताहरूको योगदान र मेहनत खेर नगएको बताउनुभयो ।
व्यक्तिगत फाइदा र स्वार्थको लागि काम गर्न नहुने उल्लेख गर्दै उहाँले समाज र देशको निम्ति सक्दो योगदान गरी देशलाई अगाडि बढाउन सबैले मेहनत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विद्यालय सञ्चालक समितिका सदस्य एवम् वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले एक घर एक स्नातकको परिकल्पनाअनुसार ख्वप सर्कलका कलेजहरू स्थापना भई योग्य र दक्ष जनशक्ति तयार गर्न सक्षम रहेको बताउनुभयो ।
ख्वप विश्वविद्यालयको स्थापना र सञ्चालनमा सबैको उत्साहप्रद सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य रुपक जोशीले संस्था सफल हुनको लागि सबैको इमानदारीपूर्वक कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठले संस्थामा पदीय जिम्मेवारीअनुसार सार्थक हुने कार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै सामूहिक भावना जागृत भएमात्र संस्थाले प्रगति गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा ख्वप माविका उपप्राचार्य विष्णुप्रसाद किसी र शिक्षक गोकर्ण दुलालले पनि बोल्नुभएको थियो ।