Explore news and happenings at Bhaktapur

भक्तपुर ट्रक व्यवसायी संघको १९ औं साधारणसभा

भक्तपुर, २०७५ माघ १८ गते शुक्रबार ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर ट्रक व्यवसायी संघका १९ औं वार्षिक साधारणसभा तथा ७ आैं अधिवेशन उद्‍घाटन गर्नुभयो ।


उद्घाटन समारोहमा बोल्नुहुँदै प्रमुख प्रजापतिले राजनीति कामदार वर्गको हातबाट खोसिंदै ठेकेदार, गुण्डा र तस्करहरूको हातमा जाने आशंका व्यक्त गर्नुभयो । सरकारले अपराधीलाई सजाय दिनुको सट्टा सांसदको सपथ ग्रहण गराउने र पुनः जेल पठाउने दोहोरो चरित्र प्रदर्शन गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले ठेकेदारहरुले गुणस्तरहीन निर्माण गर्नु अपराध हो । त्यस्ता ठेकेदारहरुलाई कडा कारवाही नगरेसम्म निर्माण संरचना बलियो बन्दैन भन्नुभयो ।

यातायात व्यवसाय सेवामुखी व्यवसाय भएको बताउनुहुँदै प्रजापतिले नाफालाई भन्दा सेवा लक्षित भावनाले काम गर्न व्यवसायीहरूमाझ अनुरोध गर्नुभयो । सियो उत्पादन नहुने देशमा अरबौं रुपैयाँको सवारीसाधन भित्रिनुमा चिन्ता व्यक्त गर्नुहँदै प्रमुख प्रजापतिले दुर्घटना हुँदा सवारीसाधन जलाउने, तोडफोड गर्नु समस्याको समाधान नभएको बताउनुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो – ‘व्यवसायी तथा व्यापारीहरूले समाजलाई सभ्य र सुसंस्कृत बनाउन योगदान गर्नुपर्ने र गलत कामको समयमै विरोध हुनु आवश्यक छ । राजनीतिलाई व्यापार ठान्नेहरूले देशका जनतालाई वस्तुसरह विदेशमा बेचिरहेका छन् ।’
उहाँले व्यसायीहरूमाझ सवारीसाधन नियमानुसार नगरपालिकामा दर्ता आह्वान गर्नुहुँदै देश विकास र सडक चौडा गर्ने नाममा प्राचीन सम्पदाहरु पुराना ढुंगेधारा, पाटी–पौवाहरु भत्काउन तथा आदिवासी जनजातिलाई बिस्थापित गर्न खोज्नु गलत भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष महेन्द्र खायमलीले राज्यले देशको उद्योग व्यवसायीको पक्षमा काम गर्न नसकेको, सिन्डिकेटलाई बढावा दिंदै व्यवसायीलाई तर्साउने काम भइरहेको बताउँदै दिउँसोको समयमा गाडी निषेध गर्ने हा भने व्यवसायीसँग उठाएको कर पनि घटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर सुवालले निजी क्षेत्रमाथिका हस्तक्षेपले देशमा समृद्धिको सम्भावना नभएको बताउनुहुँदै सरकारले सडक इञ्जिनियरिङ र मापदण्डबार नीतिगत निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई ह्योम्बाले ट्रक व्यवसायी र इँटा व्यवसायीहरू प्रत्यक्ष सम्बन्ध गाँसेको र सामाजिक उत्तरदायित्व बहन गरेको परिपूरक संस्था भएको बताउनुभयो ।

   

 कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठ, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्कर बुढाथोकी, महानगरीय ट्राफिक महाशाखा प्रमुख वसन्तकुमार पन्त, भक्तपुर ट्रक व्यवसायी संघका उपाध्यक्ष लक्ष्मीप्रसाद गोराले शुभकामना सन्देश दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.