Explore news and happenings at Bhaktapur

नेकपाको सरकार पुँजीपति वर्गको सञ्चालक समिति

जनकपुरधाम, माघ १६ गते, मंगलबार ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार जनकपुरका पत्रकारहरुसँग भेटघाट गर्नुभयो ।


भेटमा प्रमुख प्रजापतिले पुँजीवादी व्यवस्थामा काम गरी खाने जनतामाथि शोषण हुने बताउनुहुँदै पुँजीवादी सरकारमा नेमकिपा सामेल नहुने बताउनुभयो ।
विदेशीहरुले सहज नागरिकता पाउने व्यवस्थाबाट भविष्यमा नेपालमा विदेशीहरु शासक र नेपालीहरु शाषित बन्नु पर्ने सम्भावना भएकोबारे नेमकिपाले सचेत पारिरहेको बताउनु हुँदै नेपाली नेपालीहरुको राजनैतिक अधिकार खोसिने गरी जन्मको आधारमा नागरिकता वितरण गर्नु गलत छ भन्नुभयो । नेपाल–भारतबीचको खुला सिमाना नियमित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा सरकारले नाम र झन्डा मात्रै कम्युनिष्ट भएको बताउनुहुँदै नेता प्रजापतिले नेकपा सरकारले पाखण्डी चरित्र प्रदर्शण गरिरहेकोले जनतालाई सचेत पार्न नेमकिपाले सैद्धान्तिक रुपमा आवाज उठाइरहेको हो भन्नुभयो । नेमकिपा आफ्नो स्थापनाकालदेखि नै सिद्धान्तनिष्ठ र इमानदारीपूर्वक देश र जनताको सेवाको निम्ति राजनीति गरिरहेको पार्टी भएको स्पष्ट पार्नु हुँदै कम्युनिष्ट दाबी गर्ने नेकपा सरकार पुँजीपति वर्गको सञ्चालक समितिको रुपमा काम गरिरहेको बताउनुभयो ।
देशको सन्तुलित विकासको निम्ति सांसदहरुले नीति निर्माण बनाउने हो, विकास निर्माणको सम्पूर्ण जिम्मेवारी स्थानीय तहकै हुने बताउनुहुँदै प्रमुख प्रजापतिले सांसदहरुले विकासे कार्यकर्ताको रुपमा काम गर्नु गलत छ भन्नुभयो ।
उहाँले समाजवाद काम गरी खाने वर्गको स्वर्ग भएको हुँदा समाजवादी क्रान्ति अगाडि बढाउन नेपाली जनता एक ढिक्का हुनुपर्ने र जनताको सैद्धान्तिक चेतनास्तरलाई उकास्नुपर्ने पत्रकारहरुको एक प्रश्नको जवाफमा भन्नुभयो ।
के नेमकिपा संविधान संशोधनको विपक्षमा छ भनी सोधिएको अर्को प्रश्नको जवाफमा प्रमुख प्रजापतिले समाजको आवश्यकता र परिवर्तित समय अनुसार परिमार्जन वा संशोधन नभए कुनै पनि संविधान जनताले च्याटेर फाल्ने स्पष्ट पार्नु हुँदै नेमकिपा कामदार वर्गको हितमा संविधान संशोधनको पक्षमा रहेको बताउनु भयो । नेपाल मजदुर किसान पार्टीले जातीयता र क्षेत्रीयताको कुरालाई कहिल्यै नउठाएको पत्रकारहरुमाझ स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य दिनेश साह र पत्रकार महासंघ धनुषाका सचिव पुरण शाहले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.