Explore news and happenings at Bhaktapur

राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता सम्पन्न

२०७५ पुस २७ गते, शुक्रबार ।

0

‘अनुशासन मित्रता र जागरुकताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुर नपा वडा नं. ४ खेलकुद समितिको आयोजनामा २०७५ पुस २५ गतेदेखि २७ गतेसम्म सञ्चालित राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।

उक्त प्र्रतियोगितामा नेपाल पुलिस क्लब प्रथम, भक्तपुर टीम द्वितीय, काठमाडौं र एपीएफ टीमले तृतीय स्थान हासिल गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभ्य समाज निर्माण गर्न युवाहरूलाई अनुशासित र क्रियाकील बनाइराख्नुपर्ने बताउनुभयो । खेलकुदले युवाहरूमा प्रतिस्पर्धाको भावना विकास गर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले खेलाडीहरूले राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगतमा देशलाई चिनाउन जिम्मेवारीपूर्वक खेल्नुपर्ने बताउनुभयो ।

खेलकुद क्षेत्रको प्रबर्द्धनको निम्ति भक्तपुर नगरपालिका निरन्तर लागिरहने बताउनुहुँदै उहाँले भक्तपुर नपाले माघ महिनादेखि जिम्न्यास्टिक खेल प्रशिक्षणको आयोजना गर्न लागेको जानकारी पनि दिनुभयो ।

योग्य र राम्रा खेलाडीहरूलाई राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले खेलकुदमार्फत् युवाहरूले आफ्नो दक्षता प्रदर्शन गर्ने राम्रो अवसर भएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाअध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले देशको सार्वभौमिकता रक्षा गर्न युवाहरूलाई सैनिक तालिमको आवश्यकता औंल्याउनुहुँदै युवाहरूलाई कुलतबाट जोगाउन खेलकुदको महत्व भएको बताउनुभयो ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

४ नं. वडा खेलकुद समितिका संयोजक पशुपति प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापति, भक्तपुर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष कुमार चवाल, भारती माविका प्रअ न्हुछेराम भेले, वडा सदस्य राजेन्द्र माकलगायतले बोल्नुभएको थियो ।

प्रतियोगिताका विजयी टीमलाई प्रमुख अतिथि प्रजापतिले मायाको चिनो प्रदान गर्नुभएको थियो साथै प्रतियोगितामा प्रथम समूहलाई रु. ५०,०००, द्वितीय समूहलाई ३०,००० र तृतीय समूहलाई १०,००० को चेक प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.