Explore news and happenings at Bhaktapur

स्थानीय पथ प्रदर्शक भेला

२०७५ पुस २७ गते, शुक्रबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पथ प्रदर्शकहरूले इतिहास बंग्याउने कुराबाट सचेत भई पर्यटकहरूलाई सत्यतथ्य जानकारी दिनुपर्ने बताउनुभयो । भाषाले पर्यटकलाई आकर्षित गर्ने बताउनुहुँदै उहाँले पर्यटकहरूसामु शिष्ट र सभ्य रुपमा प्रस्तुत हुन मार्गनिर्देशन दिनुभयो ।

भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार आयोजित भक्तपुरका स्थानीय पथ प्रदर्शक भेला तथा प्रवचन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको भविष्य अहिले पर्यटनमा भएको र विदेशीको ध्यान यहाँका सम्पदा र मौलिकतामा हुने हुँदा यसको संरक्षण र सम्बर्धनमा भक्तपुर नगरपालिका लागिपरेको बताउनुभयो ।

भक्तपुर शान्त, व्यवस्थित, सुरक्षित र पर्यटकीय सम्भावना बोकेको नगर भएको र यसको सकारात्मक सम्बर्धनमा पथ प्रदर्शकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । पथ प्रदर्शकहरूले यहाँको सम्पदाहरूबारे गहन रुपमा अध्ययन गर्नुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले टौमढी क्षेत्रमा माघ १ गतेदेखि चारपांग्रे सवारी साधन प्रवेश निषेध गर्न लागेको जानकारी दिनुभयो ।

विश्व सम्पदामा सूचीकृत सम्पदाको संरक्षणको जिम्मा स्थानीय सरकारको भएको हुँदा नगरपालिकाले यसको संरक्षण र सम्बर्धन र पर्यटकहरूको बसाई विभिन्न सांस्कृतिक गतिविधिहरु गर्ने तयारीमा लागेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणको निम्ति केही नोक्सानी हुन सक्ने औंल्याउनुहुँदै भक्तपुर नपाले अधिकांश नगरवासीको हितमा कदम चाल्ने बताउनुभयो ।

‘सय वर्षपछिको भक्तपुर’ को परिकल्पनालाई मूर्त रुप दिन नगरपालिका अग्रसर रहेको बताउनुहुँदै उहाँले नगरपालिका, पथप्रदर्शक र स्थानीय जनता एकाकार भएर अगाडि बढ्नु आवश्यक भएको बताउनुभयो ।

पर्यटक सेवा केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुर नगरपालिकाले विदेशी सहायता विना यहाँका सम्पदाहरूको संरक्षण कार्य अगाडि बढाएको, स्थानीय अपनत्व हुने गरी उपभोक्ता समितिमार्फत् पुनःनिर्माणको कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पथ प्रदर्शकको सहयोगको आवश्यकता औंल्याउनुभयो ।

Leave A Reply

Your email address will not be published.