Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजको २४ औँ खोप कलेज अफ इन्जिनियरिङको १७ वार्षिक उत्सव विद्यार्थी स्वागत विदाई तथा सांस्कृतिक कार्यक्रम

भक्तपुर, २७ मंसिर

0
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले ख्वप इन्जिनियरिङ कलेजको २४ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १७ औं बार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित विद्यार्थी स्वागत, विदाइ तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथिको आशन ग्रहण गर्दै भन्नुभयो – “जनताका समस्या, दुःख कष्ट र अपेक्षालाई सरकारले बेवास्ता गर्दा भाद्र २३ र २४ गतेको आन्दोलन भएको हो । हामीले पटक पटक सरकार र शासक दलका नेताहरुलाई जनताको समस्यालाई सम्बोधन गन सचेत गराउँदै आएको तर शासक दलहरुमा चेत आएन ।” प्रधानमन्त्री र मन्त्री बन्नु भनेको झण्डावाल गाडीमा सिंहदरवार भित्रबाहिर गर्नुमात्र नभएको बताउनुहुँदै सर्वसाधारण जनताका छोराछोरीलाई सस्तो र सुलभ शिक्षा उपलब्ध गराउन संसदमा पेश भएको ख्वप विश्वविद्यालयको विधेयक किन पास भएन? उहाँले प्रश्न गनुभयो ।
अन्य देशमा क्रान्ति भएको १८–२० बर्षमा विकासमा अगाडि बढेको तर नेपालमा २००७ सालमा प्रजातन्त्र आएपनि ७५ बर्षसम्मपनि विकास नहुनु, कृषिप्रदान देशबाट दाल चामल आयात गर्ने देश भएको र विजुली भारतबाट किन्नु पर्ने अवस्था आएको चर्चा गर्नुभयो । शिक्षा स्वास्थ्य आवासलगायतको व्यवस्था गर्ने दायित्व सरकारको भएको बताउनुहुँदै शुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताउनुभयो ।
असल विद्यार्थीको उपलब्धी सिंगो देशको उपलब्धी भएको चर्चा गर्दै विद्यार्थीले आफैले परिक्षण गरेर आर्जन गरेको ज्ञान दिगो र प्रभावकारी हुने प्रमुख अतिथि सुवालले बताउनुभयो ।
कार्यक्रममा सभापतिको आशनबाट बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर ज्ञान विज्ञानको केन्द्रको रुपमा स्थापित हुँदै आएको चर्चा गर्दै विद्यार्थीलाई आत्मनिर्भर हुन सुझाव दिनुभयो । “सित्तैमा पाएँ भन्दैमा नलिनहोसु, भोलि दासको रुपमा प्रयोग गर्छन्, दलाली गराउँछन् ।” प्रजापतिले जोड दिनुभयो । २०७२ सालको भुकम्पपछि भक्तपुर नगरपालिकाका सम्पदाहरुको पुर्ननिर्माणको लागि जर्मन सरकारबाट शसर्त १ अर्ब २० करोड रुपियाँ अनुदान आएको तर ती शर्तहरु देशको सार्वभौमसत्ता र संविधानविपरित भएको हुँदा सहयोग अस्विकार गरी जनताकै पसिनाबाट भक्तपुरका १६९ वटा सम्पदाहरु पुनः निर्माण गरेको बताउनुभयो । देश NGO/INGO ले गर्दा परनिर्भर हुने खतरा तर्फ औल्याउँदै अमेरिकी र भारतीय स्वार्थ अनुसार काम गर्दा दुई दिनमा सयौं सम्पदा खरानी भई खर्बो सम्पत्ति नष्ट भएको र मानवीय क्षति पुगेको बताउनुभयो ।
धेरै इन्जिनियरहरु अख्तियारको फन्डामा परिरहेको समाचारहरु आइरहेको अहिलेको अवस्थामा कलेजबाट उत्तीर्ण विद्यार्थीहरुले इन्मादारिताका साथ कार्य गर्नुपर्ने बताउनुभयो । इमान्दारिता, नैतिकता र धैर्यता ख्वपको विशेषता भएको बताउनुहुँदै विदेशीको सेवाको निम्ति इन्जिनियर तयार गरेको नभई देशलाई आत्मनिर्भर बनाउन रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले देशको धरोहर, सम्पदा र इतिहासको विनाश र विध्वंश गर्ने जोकोहीलाई पनि इतिहासले कहिले माफी नदिने बताउनुभयो । व्यक्तिको छवि स्वच्छ भएन भने जति सुकै ज्ञान हासिल गरेपनि महत्व नराख्ने बताउँनुभयो । प्यालिस्टाइनको ८०–९० प्रतिशत भूभाग ध्वस्त पारिएको छ तर पनि प्लालिस्टिनी जनता आफ्नो मातृभूमिको रक्षाको लागि लडिरेहेको छ । हामी नेपाली देशमा केही छैन भन्दै विदेश पलायन हुँदैछौं । गोसाईले बताउनुभयो । संसारकै अनुशासित विद्यार्थीहरु तथा धेरै इन्जिनियरहरु रहेको देश उत्तर कोरिया भएको चर्चा गर्दै आफ्नै देशमा जिम्मेवार भएर देश र जनताको लागि काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पद्मबहादुर शाहीले नेपाल इन्जिनियरिङ परिषद्ले गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि कार्य गर्दै आएको बताउनु हुँदै इन्जिनियर भई संसारकै सेवा गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयको पाठ्यक्रमबाट मात्र होइन जीवनको हरेक क्षणमा निरन्तर हामी केही सिकिरहेका हुन्छौं । विद्यार्थीहरुले आफ्नो काममा निरन्तर इमान्दार भई कार्य गर्नुपर्ने र आफूमा अन्तरनिहित क्षमता विकास गर्नुपर्ने शाहीले बताउनुभयो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन प्रा.डा. भोलानाथ शर्मा घिमिरेले कडा मेहेनतले नै गन्तव्यमा पुग्न सकिने बताउनु हँुदै आफ्नो बलबुट्टमा आफै उभिइ आत्मनिर्भर बन्न सक्यौ भने अरु कसैले हेला गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले विद्यार्थीको दक्ष र योग्य इन्जिनियर बन्ने सपना पूरा गर्न सम्पूर्ण कलेज परिवार एकतावद्ध भएर लाग्ने बताउनुभयो । देश र जनताको सेवा गर्ने योग्य इन्जिनियर तयार गर्नु नै हाम्रो उद्धेश्य हो प्राचार्य माकले जोड दिनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले विद्यार्थीहरु कलेजमा अध्ययनरत रहँदा तथा अध्ययनपश्चातपनि सधै साथ र सहयोग रहने बताउनुहुँदै ख्वपको भावना अनुसार इमान्दार र नैतिकवान भएर सेवा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उप प्राचार्य डा. सुवेगमान बिजुक्छेंले स्वागत गर्नुभयो भने कार्यक्रमको महत्वमाथि प्रशासन शाखा प्रमुख सन्जय मानन्धरले प्रकाश पार्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उत्कृष्ट विद्यार्थी ई. सुमिना अवा र ख्वप कलेज अफ इन्जिनियरिङका ई. स्वर्णिम आगन्जाले कलेजमा अध्ययन गर्दाको आ–आफ्नो अनुभव सुनाउनुभयो । कार्यक्रममा २०८२ सालमा दुवै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुको स्वागत तथा चार बर्षे इन्जिनियरिङ, पाँच बर्षे आर्किटेक्ट र दुई बर्षे स्नातकोत्तर इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.