ख्वप कलेज अफ इन्जिनियरिङको दोस्रो कलेज सभा कलेज संचालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार कलेजको सभाहलमा सम्पन्न भयो ।
सभामा प्रमुख प्रजापतिले जनताको निरन्तर साथ र सहयोगले विभिन्न चुनौतीहरुसँग सामना गर्दै अगाडि बढ्दै भक्तपुर नगरपालिकाद्वारा संचालित कलेजहरुले गरेको प्रगति गौरव गर्न लायक भएको बताउनुभयो ।
नाफाको लागि नभई जनताको सेवाको लागि नगरपालिकाले शैक्षिक संस्था र अस्पतालहरु संचालन गरेको बताउनु हुँदै तल्लो वर्गका जनतालाई शिक्षित र सुसंस्कृत बनाउने र समाजलाई बुद्धिजिवीकरण गर्ने लक्ष्य रहेको बताउनुभयो । अग्रजहरुको भावना, सोचलाई आत्मसाथ गर्दै अझ उत्कृष्टता प्रदान गर्न हिजो भन्दा अझ सक्रियरुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । विभिन्न जिल्ला, नगर तथा कार्यालयहरुमा जादाँ ख्वपका विद्यार्थीहरु भेट हुने र उहाँहरुको कार्य कुशलता तथा सेवा प्रभाव उत्कृष्ट भएको पाएको बताउनुभयो । देशभरबाट मात्र नभई मित्र देशहरुबाट पनि भक्तपुर नगरपालिका तथा यहाँको शैक्षिक संस्थाहरुको अवलोकन भ्रमण गर्न धेरै व्यक्तित्वहरु आउनुभएको चर्चा गर्दै भक्तपुरले धेरै उदाहरणीय कार्य गर्न सक्छ भन्ने आशा रहेको बताउनुभयो । विद्यार्थीको रुचि र माग अनुसार कलेजले नयाँ नयाँ विषय अध्यापनको लागि कार्यक्रम थप गर्दै जाने बताउनु हँदै कलेजको प्रगतिको लागि कलेज सभाका सम्पूर्ण सदस्यहरू र जनताको साथ र सहयोग रहने बताउँदै उहाँले कलेज प्रगतिको लागि दिनुभएको सुझावको आभार प्रकट गर्नुभयो ।
सभामा विशेष अतिथि वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले देश वर्तमान नाजुक अवस्थामा कलेज तथा जनताको सम्पत्तिको सुरक्षाको लागि सबैजना सचेत र जिम्मेवार हुनुपर्ने औल्याउनुभयो । देशको सम्पदा जोगाउने दायित्व प्राध्यापक, बुद्धिजीवी र विद्यार्थी सबैको भएको हुँदा उत्तिकै जिम्मेवार हुनुपर्ने र नयाँ पुस्तालाई पनि जिम्मेवार बन्न प्ररित गर्नुपर्ने बताउनुभयो ।
सभामा भक्तपुर नपाका उपप्रमुख एवं कलेज संचालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने र २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न कलेजले पु¥याएको योगदानको चर्चा गर्दै स्पष्ट सोच र सक्षम नेतृत्वले गर्दा नगरपालिकाद्वारा संचालित संस्थाहरुले स्थायित्व पाएको चर्चा गर्नुभयो ।
सभामा कलेजका प्राचार्य ई. सुनिल दुवालले कलेजको आर्थिक बर्ष २०८१÷८२ को बार्षिक प्रतिवेदन र आ. व. २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
सभामा सभासद्हरूले प्रस्तुत प्रतिवेदन तथा नीति तथा कार्यक्रममाथि टीकाटिप्पणी गर्नुभएको थियो । प्रतिवेदन तथा नीति तथा कार्यक्रम संशोधनसहित पारित गरिएको थियो ।
