ख्वप कलेजको दोस्रो कलेज सभा सम्पन्न ः कलेजको नीति तथा कार्यक्रमहरू सर्वसम्मतिबाट पारित
भक्तपुर, मंसिर २२ ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप कलेजको दोस्रो कलेज सभा सोमबार कलेजमा सम्पन्न भयो ।
सभामा प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक परिवर्तनमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको उल्लेखनीय योगदान रहेको बताउँदै कलेजहरुले विद्यार्थीको चाहना र मागबमोजिम नयाँ नयाँ विषय थप्दै लाने विषयमा जोड दिँदै आएको बताउनुभयो । एक घर एक स्नातक अवधारणालाई साकार पार्न यी कलेजहरुले विशेष भूमिका खेलेको बताउँदै उहाँले सरकारले नियोजित रुपमा विद्यार्थीलाई विदेशिन बाध्य पारिरहेको छ भन्नुभयो ।
प्रमुख प्रजापतिले ख्वप कलेज स्थापनाको २४ वर्षको दौरानमा धेरै अग्रजहरुको योगदान रहेको चर्चा गर्दै उहाँले गरिबलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजहरु स्थापना भएको र शैक्षिक ऋण तथा छात्रवृत्ति वितरणले कामदार वर्गलाई शैक्षिक रुपमा अगाडि टेवा पुगिरहेको बताउनुभयो ।
बाग्मती प्रदेशसभाका सांसद एवं कलेज सभाका सदस्य सुरेन्द्रराज गोसाईले नगरपालिकाबाट सञ्चालित कलेजहरु आफैमा एउटा स्तरीय ब्रान्डको रुपमा प्रस्तुत भएको बताउँदै कलेजको उपलब्धी हासिल गर्न ससाना कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक संस्थाहरुले विद्यार्थी, अभिभावक र शिक्षकहरुको समय सुहाउँदो मागहरुलाई सम्बोधन गर्दै समन्वयकारी ढंगले अगाडि बढ्न जरुरी रहेको बताउँदै ख्वप सर्कलले अन्य शैक्षिक संघसंस्थासँग सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ख्वपले नागरिक उत्तरदायित्वसँगसँगै सामाजिक उत्तरदायित्व बहनतर्फ पनि जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर एवं कलेज सभाका उपाध्यक्ष रजनी जोशीले ख्वप सर्कलले दक्ष जनशक्ति उत्पादन गर्दै प्रतिस्पर्धी र देशभक्त नागरिक तयार गरिरहेको बताउँदै कलेजले भक्तपुरको पहिचान सहितको गतिविधिलाई पनि अगाडि बढाउनुपर्छ भन्नुभयो । उहाँले वैज्ञानिक समाज निर्माण गर्नेतर्फ संस्था अगाडि बढ्नुपर्ने धारणा राख्दै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको उद्देश्य रहेको प्रष्ट पार्नुभयो ।
सभामा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पेस गर्नुभएको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, कलेजको आ.व. २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भयो ।