Explore news and happenings at Bhaktapur

कार्ल मार्क्सको द्विशतवार्षिकको अवसरमा वक्‍तृत्वकला प्रतियोगिता

भक्तपुर, २०७५ पुस १० गते मंगलबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा मंगलबार विश्व सर्वहारा वर्गका महान् गुरु एवम् दार्शनिक का. कार्ल मार्क्सको द्विशतवार्षिक जन्म जयन्तीको अवसरमा भक्तपुर नगरस्तरीय कक्षा ११ र १२ का विद्यार्थीहरुबीच वक्‍तृत्वकला प्रतियोगितामा सम्पन्न भयो ।

प्रतियोगितामा सहभागीहरुलाई सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीति व्यक्तिगत फाइदाको निम्ति नभई ब्यापक जनताको सेवा गर्ने र पूँजीवादी समाजलाई बदल्ने उद्देश्यले गर्नुपर्ने बताउनुभयो । विद्यार्थीहरूमा राजनीतिप्रतिको वितृष्णा देखिनु देश र समाजको निम्ति खतराको विषय भएको बताउनुहुँदै प्रमुख प्रजापतिले नेतृत्वकर्ताहरुमा इमानदारिताको आवश्यकता औंल्याउनुभयो ।

व्यापक जनतालाई राजनीतिक र साँस्कृतिक रुपमा सचेत गरेर मात्रै समाजवादी आन्दोलन अगाडि बढाउनु पर्ने हुने बताउनुहुँदै प्रमुख प्रजापतिले समाजवादी व्यवस्थामा बहुसंख्यक कामदार जनताको हित हुने बताउनुभयो । उहाँले नयाँ पुस्ताका विद्यार्थीहरुले समाजको इतिहास र वर्गसंघर्षको इतिहासबारे थाहा पाउन मार्क्सवादी र समाजवादी साहित्य अध्ययनमा जोड दिनुपर्ने बताउनुहुँदै नेपाल मजदुर किसान पार्टी समाजवादी शिक्षा प्रचारमा अग्रसर भइरहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले विद्यार्थीहरुमाझ वैज्ञानिक शिक्षा प्रचारको आवश्यकता औंल्याउनुहुँदै घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षाको महत्त्व बढी भएको बताउनुभयो । भक्तपुरको शैक्षिक स्तर उकास्न र शिक्षामा नमुना नगरपालिका बनाउने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको बताउनुभयो ।

नगर शिक्षा अधिकारी मेघनाथ रिमालले भक्तपुर नगरपालिका विद्यार्थीको सिर्जनशीलताका पक्षमा रहेको र विद्यार्थीलाई पाठ्यक्रमबाहक अतिरिक्त क्रियाकलापमा सबल र सक्षम बनाउन यस प्रतियोगिताले ठूलो महत्त्व राख्ने बताउनुभयो ।

कार्यक्रममा स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, वडाअध्यक्ष उकेश कवांलगायतले बोल्नुभएको थियो ।
वक्‍तृत्वकला प्रतियोगिताको निर्णायकमा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्व, ५ नं. वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाई र नगर शिक्षा अधिकारी मेघनाथ रिमाल हुनुहुन्थ्यो ।

 

 

 

 

 

समाज विकास क्रममा मार्क्सवादी दृष्टिकोण’ विषयमा वागीश्वरी माविका सारिका खुलीमुली प्रथम, पद्म माविका तुलसा उप्रेती द्वितीय र बासु माविका धिरेन्द्र विष्ट तृतीय हुन सफल भए । ‘समाजवादी शिक्षा व्यवस्था : आवश्यकता र महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा ख्वप माविका प्रज्ञा दुवाल प्रथम, वागीश्वरी माविका सुवर्ण केसी द्वितीय, ख्वप माविका सहदेव कोइराला तृतीय र सान्त्वनामा पद्म माविका लुजन सिंह र बासु माविका रविता थुयाजुले सान्त्वना प्राप्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.