साँस्कृतिक सम्पदाहरुको भौतिकवादी व्याख्या आवश्यक
भक्तपुर । २०७९ पुस २९ गते, बिहीबार
भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिको आयोजनामा नेमकिपाबाट नवनिर्वाचित सांसद प्रेम सुवाललाई बधाईज्ञापन तथा स्थानीय पथ प्रदर्शकहरुलाई मार्गनिर्देशन एवम् परिचय पत्र वितरण कार्यक्रम बिहीबार एक कार्यक्रमबीच सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले पर्यटन क्षेत्र विश्वको भूगोल र संस्कृति अध्ययनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताउनुहुँदै देशको राजनीतिक परिस्थितिले पर्यटन क्षेत्रमा ठूलो असर पर्ने बताउनुभयो ।
स्थानीय पथप्रदर्शकहरुले पर्यटकहरुलाई नयाँ ठाउँमा घुम्न मार्गनिर्देशकको रुपमा काम गरिरहेको बताउनुहँदै सांसद सुवालले भक्तपुरको कला र संस्कृतिबारे पर्यटकहरुलाई गलत र मिथक सूचना पुग्नेतर्फ पथप्रदर्शकहरु सजग हुनुपर्ने बताउनुभयो ।
भारतले लामो समयदेखि गौतमबुद्ध भारतमा जन्मेको भनी गलत प्रचार गर्दै आएको बताउनुहु“दै भारतले पर्यटन क्षेत्रको माध्यमबाट नेपाललाई आफ्नो अधिनमा राख्न खोजिरहेको र भारत नेपाललाई उसको एउटा प्रान्तको रुपमा विश्वमा देखाउन चाहेको प्रष्ट पार्नुभयो ।
उहाँले भक्तपुरको सांस्कृतिक सम्पदाको भौतिकवादी व्याख्या आवश्यक भएको बताउनुहुँदै नेपाल पर्यटनको राम्रो सम्भावना भएको देश हो र यसको प्रवद्र्धनमा सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
उच्च शिक्षा अध्ययनलाई जोड दिनुपर्ने बताउनुहुँदै उहाँले पथप्रदर्शकलाई आवश्यक तालिम उपलब्ध गराउन समितिले आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमानदारिता, अनुशासन र असल व्यवहारबाट पर्यटक पथप्रदर्शकहरुले भक्तपुर घुम्न आउने पर्यटहरुमा सकारात्मक सन्देश प्रवाह गर्न मार्गनिर्देश गर्नुहुँदै पर्यटकहरुको निगरानी र सुरक्षाको विषयमा आधुनिक प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
वर्तमान राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्नुहुँदै प्रमुख प्रजापतिले सत्तापक्षलाई स्वेच्छाचारी हुनबाट रोक्ने काम प्रमुख प्रतिपक्ष हो र अब नेपाल मजदुर किसान पार्टी वैधानिक रुपमा संसदको प्रमुख प्रतिपक्ष हुने विचार उल्लेख गर्नुभयो ।
उहाँले राजनीतिबाट कोही पनि अछुटो रहन नसक्ने बताउनुहुँदै सत्ताको लोभ गर्ने राजनीति दलले सिद्धान्तअनुसारको काम नगर्ने र अवसरवादी चरित्रको हुने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवले नवनिर्वाचित सांसद सुवाललाई खादा र पुष्पगुच्छाले बधाईज्ञापन गर्नुहुँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन स्थानीय पथप्रदर्शकहरुको उल्लेखनीय भूमिका भएको बताउनुभयो ।
कार्यक्रममा पर्यटक प्रहरीका निरीक्षक चन्द्रकिशोर साह, भक्तपुर पर्यटन बोर्डका सचिव रबिन्द्र श्रेष्ठ, स्थानीय पथ प्रदर्शक रामेश्वर न्यौपाने, बीटीडीसीका अध्यक्ष रामसुन्दर भेले र समिति दिपेशराज शर्माले पनि बोल्नुभएको थियो ।
सोही कार्यक्रममा प्रमुख अतिथि सुवालले स्थानीय पथ प्रदर्शकहरुलाई परिचय पत्र वितरण तथा विशेष अतिथि प्रजापतिले भादगाउँले टोपी लगाइदिनुभएको थियो ।



