Explore news and happenings at Bhaktapur

कीर्तिपुरमा पाँचौँ जनसाहित्य सम्मेलन सम्पन्न

0

कीर्तिपुर, ७ पुस । पाँचौं जनसाहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको शनिबार कीर्तिपुर पाङ्गास्थित लाछीमा स्थानीय धिमे बाजा गुरु चन्द्रबहादुर महर्जनले उद्घाटन गर्नुभयो ।

हरेक वर्ष योमरी पुन्हि (धान्य पूर्णिमा) को दिन हुँदै आएको सो सम्मेलनमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेपालमा अहिले सिद्धान्त नभएका पार्टीहरूले पालैपालो सरकार गठन गरिरहेको बताउनुभयो ।
सत्तासीन नेकपाको सैद्धान्तिक स्खलनबारे बोल्दै उहाँले भन्नुभयो, ‘‘नेमकिपाले पच्चीस वर्ष अगाडि नै एमालेलाई भाइ काङ्ग्रेस बताएको हो ।’’
“कम्युनिष्टहरू शिक्षा, स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारी तथा उत्पादनका मुख्य–मुख्य साधान र सेवा सामाजिकीकरण गर्छन् तर नेकपाको वर्तमान सरकारले त्यसो गरेको छैन”, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
‘‘रुसका नेता स्तालिनले मेन्शेविक (पुँजीवादी) हरूविरुद्ध छिनोफानो हुने सङ्घर्ष गर्नुपर्ने बताउनुभएको र त्यहीअनुसार बोल्शेविक (वैज्ञानिक समाजवादको पक्षधर) हरूले अक्टोबर क्रान्ति गरेका थिए’’, उहाँले भन्नुभयो ।
नेपालमा पनि नामले मात्र कम्युनिष्ट नेकपाविरुद्ध नेपाली कामदार वर्गले छिनोफानो हुनेगरी सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै सचिव सुवालले भन्नुभयो, ‘‘नेकपासम्बद्ध कर्मचारी सङ्घले समायोजन अध्यादेशविरुद्ध सङ्घर्ष गर्दैछ । फूलको माला र टिका लगाएर पार्टी ठूलो बनाउने नाममा भएका सिद्धान्तहीन गतिविधिको परिणाम देखिंदैछ । सिद्धान्तबारे जनतालाई नसम्झाउने पार्टी कम्युनिष्ट हुँदैन ।’’
‘‘निजीभन्दा कम शुल्कमा उच्च शिक्षा अध्ययन गराउने र शिक्षालाई श्रमसँग जोड्ने ख्वप विश्वविद्यालयको विधेयक पारित नगर्ने सरकारहरू जनताको हितविपरीतका सरकार हुन् ।’’ उहाँले स्पष्ट पार्नुभयो ।
‘‘द्रुतमार्गको नाममा खोना र बोङ्गाका पुराना बस्ती र सम्पदाको धरोहर विनाश गरिंदैछ । देशको सन्तुलित विकास गरिए द्रुतमार्ग आवश्यक हुँदैन । द्रुतमार्गको बजेटले जलविद्युत् उत्पादन गरी रोपवे चलाउनुपर्दछ ।’’ सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘जन्मको आधारमा दिइएका नेपाली नागरिकता छानबिन गरी विदेशीले लिएको पाइएमा खारेज गर्नुपर्दछ । त्यसो नगरी जन्मको आधारमा नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिनेगरी संविधान र ऐन संशोधनमा गर्नुहुँदैन ।’’
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा, कला र संस्कृति हाम्रो पहिचान भएकोले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो कला, गीत र सङ्गीतमाथि वैदेशिक आक्रमण भइरहेको छ । त्यसबारे सचेत हुन सकेनौँ भने हाम्रो पहिचान गुम्ने र अस्तित्वसमेत लोप हुने खतरा छ ।’’
कर्मचारी अध्यादेश जारी गरेर सङ्घीय सरकारले कर्मचारी राख्न पाउने स्थानीय सरकारको अधिकारमाथि अङ्कुश लगाउन खोज्नु प्रजातन्त्रविपरीत भएको विचार उहाँले राख्नुभयो ।
भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि भूकम्पपीडितहरू टहरामै बस्न बाध्य हुनु सरकारको अकर्मण्यता भएको चर्चा गर्दैै नगर प्रमुख प्रजापतिले पीडितहरूलाई एकमुष्ट रकम दिनुपर्ने र सबै अधिकार स्थानीय तहलाई दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘संविधान र कानुनले स्थानीय तहलाई दिएको स्वास्थ्य र शिक्षाको अधिकार केन्द्रले नै लिन खोज्नु सङ्घीयता र संविधानको भावनाविपरीत छ ।’’
‘‘विकास निर्माणदेखि स–साना कामसमेत विदेशी सङ्घ–संस्थालाई गर्ने अवसर दिनु हामी कमजोर हुँदै जानुको परिणाम हो । आफ्नो काम आफैं गर्ने बानीको विकास गर्नु आवश्यक छ ।’’ मेयर प्रजापतिले भन्नुभयो ।

नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले वर्तमान पुँजीवादी व्यवस्थाद्वारा र्सिर्जित बेथिति तथा विसङ्गति र उसको अत्याचारी चरित्रविरुद्ध नउभिने स्रष्टा प्रगतिशील नहुने बताउनुभयो ।
उहाँले सिद्धान्तच्यूत र समाजवादी विचारविपरीत गइसकेका पार्टी र सरकारलाई समाजवादी मान्नु गलत हुने विचार व्यक्त गर्नुभयो ।
नक्कली समाजवादीहरूलाई उदाङ्ग्याउनु सच्चा माक्र्सवादी लेखकहरूको जिम्मेवारी भएको चर्चा गर्नु उहाँले प्रस्ट पार्नुभयो, ‘‘चुनावमा भोट बटुल्न समाजवादको सपना देखाउनु जनताप्रति विश्वासघात हो । साम्राज्यवादीहरूका आईएनजीओप्रति भक्तिभाव देखाउनु र तखतमा बस्नु आत्मसमर्पण हो ।’’

नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सृजना सैंजूले शोषित–पीडित जनताको पक्षमा लेखिएका साहित्य युग–युगसम्म बाँच्ने चर्चा गर्नुहुँदै भाषा, कला, संस्कृति जगेर्ना गर्नु र जनताको सेवाको निम्ति प्रयोग गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
जनताको कवि–कलाकार समाजका चिकित्सक हुने स्पष्ट पार्नुहुँदै उहाँले वर्तमान व्यवस्था पुँजीवादी भएकैले भ्रष्टाचार, कमिशनखोरी झाङ्गिदै गएकोमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका पूर्व जर्णेल प्रेमसिंह बस्न्यात, त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्रहालय छाउनीका प्रमुख प्रा.डा. धर्मराज डंगोल, प्राज्ञ तथा गायक रामकृष्ण दुवाल, मृर्गौला रोग विशेषज्ञ डा.समित आचार्यलगायतले विभिन्न विषयमा बोल्नुभएको थियो ।

जनसाहित्य समाज टोखाका संस्थापक अध्यक्ष राजवीर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत आयोजक जनसाहित्य गोष्ठीका बुद्धिमान महर्जन, धन्यवाद कार्यक्रम संयोजक नारायण महर्जनले गर्नुभएको थियो ।
सम्मेलनमा भएको कविता प्रतियोगितामा प्रथम सुवर्ण महर्जन, द्वितीय रमेशमान महर्जन र तृतीय विकास महर्जन हुनुभयो ।

Leave A Reply

Your email address will not be published.