अनिश्चितकालीन विद्यालय हडतालले सामुदायिक विद्यालयको शैक्षिक स्तर झन कमजोर बनाउने
मिति २०८२ बैशाख ९ गते मंगलबार ।
“जीवनका गरेका राम्रा कामहरुले नै मान्छेलाई अमर बनाउँछ । अवकाशपछि आप्mना जीवनमा देखे भोगेका विषयहरुबारे अलिपीबद्ध गर्न सकिए त्यसले नयाँ पुस्तालाई उर्जा प्रदान गर्छ, विगत र वर्तमान शिक्षाबारे जानकारी दिन्छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बासु माविबाट अनिवार्य अवकाश प्राप्त शिक्षक राजेन्द्र प्रसाद प्रधानको विदाईको लागि आयोजित कार्यक्रममा बोल्दै नयाँँ विद्यार्थी भर्ना र कक्षा संचालन, एसइईको परीक्षा कापी परीक्षण, कक्षा १२ को परीक्षा प्रभावित हुने गरी अनिश्चितकालीन विद्यालय हडतालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर बनाउने बताउनुभयो ।
उहाँले १० वर्षे सशस्त्र संघर्षको बेला पनि भक्तपुरका विद्यालयहरु बन्द नभएको स्मरण गर्दै अहिले भक्तपुरको शिक्षा उत्कृष्ट हुनु त्यसैको परिणाम हो भन्नुभयो । उहाँले भन्नुभयो – विद्यालय बन्दले निजी विद्यालयहरुलाई फाइदा गर्छ । यसबाट सचेत हुनुपर्छ ।”
आफ्नो पेशागत हितको निम्ति आन्दोलन गर्नु नराम्रो होइन तर त्यसले लाखौं विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने छुट कसैलाई छैन – उहाँले भन्नुभयो ।
भक्तपुरको सामुदायिक शिक्षा राम्रो हुनुमा यहाँका शिक्षक, व्यवस्थापन समिति र स्थानीय जनताको राम्रो योगदान रहेको चर्चा गर्दै उहाँले भन्नुभयो –२०३६ सालसम्म भक्तपुरको शिक्षा निकै पछाडि थियो । अहिले राम्रो हुुँदैछ । अझ राम्रो बनाउन सबैले प्रयास गर्नु आवश्यक छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले शिक्षक राजेन्द्र प्रसाद प्रधान मिलनसार व्यक्तित्व भएको चर्चा गर्दै अवकाश पछि पनि उहाँले शिक्षण क्षेत्रमा निरन्तरता दिने आशा व्यक्त गर्नुभयो ।
शिक्षक प्रेम कुमार मगरले शिक्षक प्रधानसँग केहि वैचारिक भिन्नताका कारण विभिन्न विषयहरुमा छलफल गर्दा मत भिन्नता भए पनि उहाँ एक असल शिक्षक भएको आफ्नो अनुभव सुनाउनु भयो ।
विद्यालयका सहायका प्रधानाध्यापक राजकुमार ह्यौमिखाले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व प्रधानाध्यापक रवि प्रधानले गर्नुभएको थियो भने कार्यक्रममा शिक्षक रामकुमार निरौलाले पनि बोल्नुभएको थियो ।
अवकास प्राप्त शिक्षक प्रधानलाई प्रमुख अतिथि प्रजापतिले दोसल्ला लगाई सम्मान गर्दै मायको चिनो प्रदान गर्नुभएको थियो ।



