भक्तपुर नगरपालिका ४ वडा कार्यालयको आयोजनामा पाठेघर क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो ।
शिविर सफलताको शुभकामना व्यक्त गर्दै नेमकिपा केन्द्रीय सदस्य एवम् भनपा प्रमुख सुनिल प्रजापतिले आगो, पानी, रोग र शत्रुलाई बेवास्ता गरे आफैलाई हानि नोक्सानी पु¥याउन सक्ने हुनाले समयमै सचेत र सतर्क हुन आवश्यक भएको बताउनुभयो । रोगलाई लुकाउनु भनेको फोहरलाई छोपेर राख्दा दुर्गन्ध फैलिएजस्तै हो भन्दै उहाँले विदेशमा उपचार गर्न जाँदा आवतजावतमै लाखौँ धन खर्चनुपर्नेे र रोगबारे बेखबर रहँदा घरखेत बेचेरै उपचार गराउँदा पनि स्वस्थ लाभ नहुने अवस्था भएकोले भनपाले ख्वप अस्पताल सञ्चालन गरी स्वस्थ उपचार सेवा सहजरूपमा उपलब्ध गराउँदै आइरहेको चर्चा गर्नुभयो ।
प्रमुख प्रजापतिले अस्पतालमा अहिले सिटी स्क्यानजस्ता आधुनिक उपकरण समेत प्रयोग गरी स्वास्थ्य परिक्षण गराउँदै आएको जानकारी दिँदै स्वस्थ जीवनको निम्ति स्वस्थकर खाना सेवन गर्न सुझाव दिनुभयो । उहाँले स्वास्थ्य नै धन भएकोले नियमित स्वस्थ जाँच गरी स्वस्थ नागरिक भई समाज विकासमा योगदान गर्न वडावासीहरू तत्पर रहनुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
ख्वप अस्पतालका निमित्त डाइरेक्टर डा. मजेशप्रताप मल्लले स्वास्थ्यमा असहज स्थिति नआउञ्जेल अस्पताल नजाने बानी ठिक नभएको र सामान्य लक्षण देखिनेबित्तिकै अस्पताल जाने र समयमै उपचार गराउन सके बिरामीलाई क्यान्सरबाट पनि बचाउन सकिने धारणा व्यक्त गर्दै शिविरको रिपोर्टमा सामान्य, असामान्य वा असाधारण अवस्था देखिए पनि आत्तिन नहुने सल्लाह दिनुभयो ।
नेमकिपा भनपा–४ वडा समिति उपाध्यक्ष एवम् निवर्तमान कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले २०५५ सालदेखि पाठेघर र स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर निरन्तर सञ्चालन हुँदै आएको र विगतमा पहिलोपटक शिविर गर्दा सहभागी महिलाहरूमात्र नभई डाक्टरहरूसमेत डराउने गरेको जानकारी गराउँदै अहिले शिविर सञ्चालन गर्न धेरै सहज भएको बताउनुभयो ।
भ.न.पा.४ नं वडाका वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा वडा सदस्य विष्णुकेशरी दुवाल, वडा नर्स इरा त्वायनालगायतले बोल्नुभयो ।
स्वास्थ्य शिविरमा १५६ जना स्थानीय महिलाहरूले स्वास्थ्य परीक्षण गराएका थिए ।

