Explore news and happenings at Bhaktapur

खेलाडीहरूले खेलका साथै शिक्षामा पनि ध्यान दिनुपर्ने

भक्तपुर, ३० चैत ।

0
 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै भक्तपुर अन्तर–नगर खेलकुद प्रतियोगिता, अन्तर–विद्यालय खेलकुद प्रतियोगिता र नियमित खेल प्रशिक्षण यसका दृष्टान्तहरू हुन् भन्नुभयो ।
भक्तपुर जिल्ला टेबुलटेनिस सङ्घको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख प्रजापतिले खेलाडीहरूले खेलको साथै शिक्षामा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “खेलाडीहरूले अनुशासनमा बसेर देशको नाउँ उच्च राख्ने भावनाले खेल्नुपर्छ । खेलकुद सँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूबारे जानकारी राख्नुपर्छ । देशको सार्वभौमिकतामाथि कसैले हस्तक्षेप गर्छ भने त्यसको विरोधमा आवाज उठाउनु पनि खेलाडीहरूको कर्तव्य हो ।”
चीन र संरा अमेरिकाबिच व्यापार युद्धको सम्भावना बढ्दै गएको बारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “अमेरिकाले चिनियाँ सामान आयातमा अचाक्ली कर बढाउने घोषणा ग¥यो । चीनले पनि त्यसको जवाफमा अमेरिकी सामानमा कर बढाउने निर्णय गर्दै वार्ता गर्ने भए ढोका खुला छ लड्ने भए अन्तिमसम्म लड्न तयार छौँ भन्यो । खेलाडीहरूले पनि शत्रुको सामु नझुकी दृढतापूर्वक लड्ने आँट गर्नुपर्छ ।”
भनपा वडा नं. ४ का वडाध्यक्ष एवं युवा खेलकुद समितिका सदस्य उपेन्द्र सुवालले नगरपालिकाले खेलाडीहरूका लागि राम्रो अवसर प्रदान गर्ने कोशिश गरिरहेको बताउनुभयो ।
अखिल नेपाल टेबुलटेनिस सङ्घका अध्यक्ष विजेन्द्र हमालले टेबुलटेनिसका मुख्य प्रशिक्षक बन्न सफल मोहनदास बासुकलालाई बधाई दिँदै बासुकलाले सङ्घर्षपूर्ण जीवनबाट खेलाडीहरूले पाठ सिक्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मुख्य प्रशिक्षक नियुक्त मोहनदास बासुकलालाई प्रमुख अतिथि प्रजापतिले सम्मान गर्नुभयो भने टेबुलटेनिस खेल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.