बासु माविद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना तथा बधाईज्ञापन
२०७९ जेठ १३ गते, शुक्रबार
बासु माविको आयोजनामा भक्तपुर नगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडा नं. २ का वडाध्यक्ष तथा वडा सदस्यहरुलाई शुभकामना तथा बधाईज्ञापन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालयको गुणस्तर, स्तरोन्नति र विकासमा नपाले जोड दिएकै कारण आज भक्तपुरका सामुदायिक विद्यालयमा अध्ययन गर्न देशभरिका विद्यालयहरुबीच प्रतिस्पर्धा भइरहेको बताउनुभयो ।
भक्तपुरलाई विश्वको लागि हेर्न लायक सहरको रुपमा विकास गर्ने र ‘सय वर्षपछिको भक्तपुर’ परिकल्पना सार्थक बनाउने उद्देश्यका साथ नगरपालिका लागिपरेको उहाँले बताउनुभयो ।

भक्तपुरले आज देशकै सफा नगर, उत्कृष्ट शैक्षिक गन्तव्यस्थल र सांस्कृतिक सम्पदा संरक्षित नगरको रुपमा आफ्नो परिचय कायम गर्न सफल भएको बताउनुहुँदै प्रमुख प्रजापतिले दलगत र व्यक्तिगत स्वार्थले कहिल्यै देशको विकास सम्भव नभएको बताउनुभयो ।
जनता सचेत भए देश विकास गर्न धेरै समय नलाग्ने बताउनुहुँदै प्रमुख प्रजापतिले समाजवादी मोडलअनुरुप भक्तपुर नपाले आफ्ना गतिविधिहरुलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो ।
नवनिर्वाचित उपप्रमुख रजनी जोशीले भक्तपुर देशकै सानो नगरपालिका भएर पनि भक्तपुरले गरेको काम देशव्यापी रुपमा अनुकरणीय र चर्चाको विषय बनेको बताउनुहुँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउनुभयो ।
उहाँले घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने, अरनिको सभाभवन, थन्थु दरबार, न्हय्कं झ्या दरबार पुनःनिर्माण गर्ने आगमी योजनाहरु रहेको बताउनुहुँदै नपाले अनुसन्धानमूलक गतिविधिमा जोड दिँदै लाने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का नवनिर्वाचित वडाध्यक्ष हरिप्रसाद बासुकलाले देको मिवा इतापाके आवास योजना सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट पार्नुहुँदै आयोजना अब छिटै सम्पन्न हुने विश्वास दिलाउनुभयो ।
बासु मावि व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द बासुकलाको सभापतित्व भएको उक्त कार्यक्रममा बासु माविका प्रअ अम्बिका न्याइँच्याइँ र कलेजका शिक्षक सबिन ख्याजूले नवनिर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।