Explore news and happenings at Bhaktapur

स्थानीय जनतालाई सदस्य बनाउने, कृषि र साना तथा घरेलु उद्योगलाई जोड दिने सहकारी संस्थाको प्रमुख सिद्धान्त

२०८१ पुस १, सोमबार

0
नेपाल मजदुर किसान पार्टीका सचिव एवभ् संघीय सांसद प्रेम सुवालले भक्तपुर महोत्सव २०८१ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘सहकारी आवाज’ बुलेटिन आज एक कार्यक्रमबीच विमोचन गर्नुभएको छ ।
सहकारी गतिविधिसम्बन्धी प्रदर्शनी स्थल गोल्मढीमा आयोजित उक्त कार्यक्रममा बुलेटिन बिमोचन गर्दै सांसद सुवालले स्थानीय जनतालाई सदस्य बनाउने, कृषि र साना तथा घरेलु उद्योगलाई जोड दिने सहकारी संस्थाको प्रमुख सिद्धान्त भएको बताउनुभयो ।
सहकारी संस्था नयाँ पुस्तालाई सभ्य र सुसंस्कृत बनाउनेतर्फ लाग्नुपर्ने भन्दै उहाँले सहकारी संस्थाहरु आर्थिक कारोबारमा मात्र सीमित नभई सदस्यहरुको सांस्कृतिक स्तर उठाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
छिमेकी देश भारतले नेपालको सीमाना, नदीनाला र जलस्रोत र देशको राजनीतिमा हस्तक्षेप गरिरहेको बताउँदै उहाँले देशको अर्थतन्त्र कमजोर भएपछि सरकार पनि कमजोर हुने हुँदा सहकारी संस्थाहरुमार्फत देशको आर्थिक गतिविधिलाई चलायमान र सुदृढ पार्नेतर्फ सहकारी संस्थाहरु क्रियाशील हुनु जरुरी रहेको बताउनुभयो ।
सहकारी संस्थाहरुले सामाजिक सेवामा पनि बजेट विनियोजन गर्दै सदस्यका छोराछोरीहरुलाई सीपयुक्त तालिम, भाषाका तालिमहरु दिएर सुसंस्कृत बनाउनु उपयुक्त हुने धारणा सांसद सुवालले व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा प्रकाशित सहकारीसम्बन्धी बुलेटिनमा संग्रहित लेखहरुको अध्ययनबाट सहकारी संस्थामा काम गर्ने सञ्चालक र कर्मचारीहरुलाई सहकारीको सिद्धान्त र नीतिबारे स्पष्ट हुने र सहकारी सही दिशामा अघि बढ्न मार्गनिर्देश गर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका सदस्य हरिप्रसाद बासुकलाले पाँचदिने महोत्सव भव्य र सफल रुपमा सञ्चालन भइरहेको बताउँदै महोत्सवकै अवसरमा भक्तपुर नपाले सहकारी गतिविधिहरु प्रदर्शनमा राखिएको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सहकारी गतिविधिलाई उजागर गर्न भक्तपुर महात्सवको अंगको रुपमा सहकारी गतिविधि प्रदर्शनी स्थलको व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी मूल्य र सिद्धान्तबारे सहकारीकर्मी र सदस्यहरु सुसूचित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहकारी समितिका सदस्यद्वय जितेन्द्र मुनंकर्मी र कार्यपालिका सदस्य रञ्जना त्वातीले पनि बोल्नुभएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक नाचहरु प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.