नेपाल स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाको आयोजनामा यही २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव, २०८१ को तयारीस्वरूप स्काउट मास्टरहरु र अग्रज स्काउटहरुको भेला भक्तपुर नगरपालिकाको सभाहलमा आइतबार सम्पन्न भयो ।
भेलामा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा नेपाल स्काउट स्थानीय कार्यालय भक्तपुर नगरपालिकाका प्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई अतिथि देव भवः भन्ने वाक्यलाई साक्षात्कार गर्ने अभियानको रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुहुँदै महोत्सव सभ्य र भव्य रुपमा सफल पार्नु हामी सबैको साझा दायित्व हुने बताउनुभयो ।
उहाँले कला, संस्कृति र सम्पदालाई संरक्षण र जगेर्ना गर्ने काम मात्र गरिरहेको नभई शिक्षा र स्वास्थ्यलाई पनि उत्तिकै राम्रोसंग अगाडि बढाइरहेको र नगरपालिकाको सोही गतिविधिलाई पनि भक्तपुर महोत्सवमा प्रदर्शन गर्ने प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष रविन्द्र ज्याख्वले स्काउटको परिचय भन्नु नै अनुशासन भएकोले महोत्सवमा प्रवेश गर्ने र अवलोकनको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अवलोकन कार्य सहज र सरल बनाउनुहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुर महोत्सवमा सामाजिक सांस्कृतिकलगायत विविध क्षेत्रमा स्काउटको व्यवस्थापन महत्वपूर्ण हुने पनि बताउनुभयो ।
भेलामा नेपाल स्काउट स्थानीय स्काउट भक्तपुर नगरपालिकाका सल्लाहकार भक्त राजभण्डारी, स्थानीय स्काउट भक्तपुर नगरपालिकाका आयुक्त बालकृष्ण वनमाला, मध्यपुर थिमी नगरपालिकाका आयुक्त तुल्सीहरी प्रजापति, नेपाल स्काउट, स्थानीय स्काउट भक्तपुर नगरपालिकाका परीषद सदस्य कृष्णप्रसाद धन्छा, कृष्णराम त्वानावासू र राजेश गाईजुले पनि आआफ्नो विचार राख्नुभएको थियो ।
