Explore news and happenings at Bhaktapur

भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत

भक्तपुर । २०८१ कार्तिक १३, मंगलबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा डोटीबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको स्वागत तथा परिचयात्मक कार्यक्रम मंगलबार सम्पन्न भयो ।
नगर प्रमुख प्रजापतिले नवनियुक्त प्रजिअ अर्याललाई खादा र पुष्पगुच्छाले स्वागत गर्दै उहाँको कार्यकाल सफलताको लागि शुभकामना दिनुभयो ।
प्रमुख प्रजापतिले सार्वजनिक र पर्ति जग्गा संरक्षण गर्नु तीन तहको सरकारको दायित्व भएको बताउँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणमा अन्य स्थानीय तहले भन्दा पृथक ढंगले काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयास गरिरहेको बताउँदै उहाँले भक्तपुरको शान्ति सुरक्षा, विपद व्यवस्थापन, जात्रा व्यवस्थापनलगायतका विषयमा प्रशासनको समन्वयकारी भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
सम्पदा पुनःनिर्माणको कार्य ठेक्कामा दिन नहुने कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर नपाले भक्तपुरलगायत देशकै सम्पदा पुनःनिर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
भाज्या पुखु डिल निर्माण गर्ने विषयमा देखिएको असमझदारीहरुबारे प्रष्ट पार्दै उहाँले भाज्यापुखुको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल लगाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका नवनियुक्त प्रजिअ गोपालप्रसाद अर्यालले सांस्कृतिक एवम् ऐतिहासिक नगरीमा काम गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।
उहाँले भक्तपुर जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, जात्रा व्यवस्थापनलगायतका क्षेत्रमा नगरपालिकासँग समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भक्तपुरको प्रशासनिक काममा दत्तचित्त भएर काम गर्ने विश्वास दिलाउनुभयो ।
भक्तपुरको मौलिकता संरक्षणमा भक्तपुर नपाले उदाहरणीय काम गरिरहेको उहाँले सोही क्रममा बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले प्रजिअ अर्याललाई भक्तपुर नगरपालिकाको प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.