चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, छिङहाई प्रदेशका पार्टी सचिव श्री छेन गाङको नेतृत्वमा मित्रराष्ट्र चीनबाट आउनु भएको प्रतिनिधि मण्डल भक्तपुरमा
चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा छिनहाई प्रान्तीय समितिका सचिव छन काङ्गद्वारा नेतृत्व गरिएको १२ सदस्यीय प्रतिनिधिमण्डलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान बिजुक्छें (रोहित) सँग सोमबार भेटघाट गर्यो । भेटमा नेपाल—चीनबिचको इतिहासदेखि रहँदै आएको मैत्री सम्बन्ध र दुई देशका जनताबीच रहेको गहिरो सम्बन्ध विषयमा छलफल भयो । दुई देशको इतिहास, कला—संस्कृति तथा सभ्यताबारे अध्यक्ष रोहित र चिकपाको प्रतिनिधिमण्डलका प्रमुख छङले विस्तृत छलफल गर्नुभयो ।
अध्यक्ष रोहितले नेपाल एउटा सांस्कृतिक संगमस्थलको रुपमा रहेको चर्चा गर्नुहुँदै नेपालले उत्तरबाट वास्तुकला र दक्षिणबाट धार्मिक चिन्तन पाएको इतिहासक्रममा निर्माण गरिएका मठ—मन्दिर र तिनको वास्तुकला एवम् निर्माणशैलीले प्रस्ट पार्ने बताउनुभयो । उहाँले भन्नुभयो—‘इतिहासमा भक्तपुर भएरै ल्हासा, तिब्बत जाने गरिन्थ्यो । तिब्बतबाट बौद्ध धर्मका गुरुहरू यहाँ आउँथे । बौद्ध धर्मावलम्वीहरू यहाँ आउँथे र बस्थे । बौद्ध धर्मले दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनायो ।’ उहाँले प्रस्ट पार्दै भन्नुभयो— ‘हिजोको नेपाल कस्तो थियो भनेर बुझ्न तिब्बती साहित्यको अध्ययनले मद्दत पुर्याउनेछ । चिनियाँ तथा तिब्बती भाषाको गहिरो अध्ययन गराई विशेषज्ञ तयार गर्न सके इतिहास चिन्न सहज बन्नेबारे नेपाल सरकारको समेत ध्यानाकर्षण गराउँदैछौ।’
कामरेड रोहितले संसार फेरि पूर्वतिर फर्किंदै छ भन्नुहुँदै राजनीतिको मुख्य उद्देश्य जनताको सेवा हो तर पश्चिमाहरू व्यक्तिगत महत्त्वाकांक्षालाई प्रश्रय दिँदै व्यक्तिवादी चिन्तन हुर्काउँदै छन् भन्नुभयो । उहाँले भन्नुभयो— ‘पूर्वी दर्शन तथा चिनियाँ दर्शनले आफूलाई होइन जनतालाई केन्द्रमा राख भन्छ । कन्फुसियसले पनि त्यही चिन्तन अगाडि बढायो । त्यसको विपरित पश्चिमाहरूले ध्वंश, हमला र विनाशको नीति लिए । पश्चिमाहरूले कहाँ हमला गर्ने भनी हेर्छन् भने पूर्वेलीहरूले कहाँबाट के सिक्ने र कसरी सहयोग गर्ने भनी चिन्तन गर्छन् । यही विषयमा नेता सि चिङ फिङले गम्भीर रुपमा विश्लेषण गर्नुभएको हाम्रो अध्ययनले बताउँछ ।’
अध्यक्ष रोहितले चीन र चिनियाँ कम्युनिस्ट पार्टीले विचारको आदानप्रदान, सहयोगको आदानप्रदान तथा हार्दिकतासहितको आदानप्रदान अगाडि बढाउनु सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो । उहा“ले नामबाट मित्र चिन्न नसकिने प्रस्ट पार्दै नेपालको सन्दर्भमा समेत जातजातिको विशेषता फरक—फरक हुने प्रस्ट पार्नुभयो ।
चिनियाँ प्रमण्डलका प्रमुख छन काङ्गले सम्पदा संरक्षित तथा मौलिक विशेषता जोगाइएको भक्तपुर भ्रमणबाट प्रभावित भएको बताउँदै पहिलो चोटीको नेपाल भ्रमणले आफूमा गहिरो छाप दिएको अनुभव सुनाउनुभयो । चीन र नेपालले सांस्कृतिक आदानप्रदानको लामो यात्रा तय गरिसकेको बताउँदै उहाँले भन्नुभयो— ‘छिङहाई प्रान्त र तिब्बती भूमि पठ्ठार भूमि हो । चिनियाँ सरकार, जनता र चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँ द्रुत्त गतिमा विकासका कार्य र जनतालाई सुख—सुविधा दिने काम निरन्तर अगाडि बढाउँदै छ ।’ प्रमुख छनले जनताको खुसी र अनुहारमा हाँसो महत्वपूर्ण हुन्छ भन्नुहुँदै त्यसको निम्ति सर्वसाधारण जनता र जनप्रतिनिधिहरूबीच जीवन्त सम्बन्ध स्थापित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भक्तपुरका जनताको खुसी र हाँसोबाट आफू प्रभावित भएको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी छिङहाई प्रान्तका सचिव छनले द्रुत्त आर्थिक विकासका निम्ति जनताप्रतिको विश्वासमा अडिग हुनुपर्ने र जनताको हितलाई उच्च प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति सि चिङ फिङको नेतृत्वमा चीनले जनता र सरकार तथा पार्टीबिचको सम्बन्ध इतिहासमै बलियो ढङ्गमा निर्माण गर्न सफल भएको बताउनुभयो ।
सचिव छनले पूर्वी र पश्चिमा संस्कृतिबीच प्रशस्त भिन्नता रहेको चर्चा गर्नुहुँदै राजनीतिबारे पूर्वी र पश्चिमा बुझाइ फरक छ भन्नुभयो । उहाँले भन्नुभयो — ‘पश्चिमा राजनीतिक चिन्तनले षड्यन्त्र बढी गर्न सक्नेलाई नेता निर्वाचित गर्छ भने पूर्वी चिन्तनले असल मानिसमात्र राजनीतिज्ञ बन्न सक्छ भन्छ ।’
भेटमा नेमकिपाका केन्द्रीय सदस्यद्वय सुनिल प्रजापति र सुरेन्द्रराज गोसाईको उपस्थिति थियो ।
भेटघाटभन्दा अगाडि चिकपाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वाएर, तौमढी र तालाक्व क्षेत्रमा अभिरुचिपूर्वक अवलोकन गरेको थियो । अवलोकनपूर्व खौमा ध्वाकामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत जनप्रतिनिधिहरू तथा साँस्कृतिक बाजागाजा टोलीले स्वागत गरेकोे थियो ।