Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाका कर्मचारीहरुबीच बिजया दशमी र शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम

भक्तपुर । २०८१ असोज १५ गते, मंगलवार

0
भक्तपुर नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुरको आयोजनामा बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा मंगलबार भक्तपुर नगरपालिकाका कर्मचारीहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले डुबान र पहिरोका कारण प्रभावित क्षेत्रहरुमा महामारी फैलने खतरा बढेको बताउँदै प्राकृतिक विपदपछि महामारीको लागि सचेत हुनुपर्ने बताउनुभयो ।
काठमाडौं केन्द्रित विकासले देशको सन्तुलित विकास नभएको बताउँदै उहाँले खानेपानीको समस्या, फोहरमैला, सडकजाम, महँगी आदि समस्या समाधानका लागि राजधानी दाङमा सार्न जोड दिनुभयो ।
राजधानी दाङमा सारेसँगै पश्चिम नेपालको पनि विकास हुने बताउँदै उहाँले कमजोर संरचना बनाएका ठेकेदारहरुलाई कारबाही गर्नुपर्ने र भुक्तानी रोक्का गर्नुपर्ने बताउनुभयो ।
देशको अर्थतन्त्र धरासायी भएकोले कर्मचारीहरुको तलब सुविधा दिन पनि सरकार विदेशीको भर पर्नुपर्ने अवस्था आएको बताउँदै उहाँले कर्मचारीहरुले आफ्नो सैद्धान्तिक स्तर उकास्न अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपालमा वैदेशिक हस्तक्षेपको प्रभावबारे प्रष्ट पार्दै सांसद सुवालले शासकहरु जनताप्रति उत्तरदायी नहुँदा जनताले दुःख पाएका छन् भन्नुभयो ।
कर्मचारीहरु बौद्धिक मजदुर भएकोले खानपानमा ध्यान दिनुपर्ने भन्दै उहाँले स्वस्थ रहन शारीरिक परिश्रम र उचित खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । गुणस्तरहीन प्याकेटका पत्रु खानाबाट टाढा रहनुपर्ने बताउँदै उहाँले प्राकृतिक पौष्टिक तत्वयुक्त खानेकुरामा जोड दिनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरुले आफूलाई जनताको सेवकको रुपमा मनन गरी सेवा गर्नुपर्ने बताउँदै दशैं बिदाको समयलाई रचनात्मक बनाउन र कुलतबाट आफूलाई टाढा राख्न प्रेरित गर्नुभयो ।
कर्मचारीले व्यक्तिगत हितमा भन्दा पनि संस्थाको हितलाई प्राथमिकता दिइ काम गर्नुपर्ने बताउँदै आफूलाई दिइएको जिम्मेवारी पूरा गर्ने मान्छे भविष्यमा सफल हुन्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासले भक्तपुरमा उदाहरणीय कार्य गर्न सम्भव भएको बताउँदै उहाँले सिंगो नगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउन इमानदारीपूर्वका काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारीहरुले प्रगतिशील हुँदै भविष्यको निम्ति सोचेर अगाडि बढ्नु आवश्यक भएको बताउँदै भक्तपुर नपा विश्वविद्यालय सञ्चालन गर्न सक्षम रहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले जात्रा पर्वहरु मनाउँदा सांस्कृतिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । भक्तपुर नपाले पाक्षिक सरसफाइलाई पुनःनिरन्तरता दिँदै नगरका विभिन्न ठाउँहरुमा सरसफाइ कार्यक्रमहरु आयोजना गर्दै आएको बताउँदै कर्मचारीहरुले सेवाग्राहीहरुलाई शिष्ट र नर्म व्यवहारका साथ सेवा प्रवाह गर्न प्रेरित गर्नुभयो ।
चाडपर्वहरुलाई धेरै तडकभडकका साथ नमाउन आग्रह गर्दै उपप्रमुख जोशीले नगरपालिका जनताको सेवामुखी संस्था भएकोले नजिकिँदै गरेको चाडपर्वमा नगरको विकास र नगरबासीहरुको सेवा तथा विभिन्न कामकारबाहीबारे पनि छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कर्मचारीहरु राष्ट्रको सेवामा दत्तचित्त भई अगाडि बढ्न मार्गनिर्देश गर्नुहुँदै कर्मचारीहरु पनि सामाजिक प्राणी भएको र जुनसुकै समय जनताको सेवाको निम्ति खटिन तत्पर रहनुपर्ने बताउनुभयो ।
कर्मचारीको प्रोत्साहन, वृत्तिविकास आदि मौजुदा कानुनअनुसार हुँदै जाने बताउँदै उहााले कर्मचारीहरुले प्रवाह गर्ने सेवा सुविधा प्रभावशाली हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले सरकारको सफलता कर्मचारीहरुको सक्षमतामा निर्भर हुने हुँदा कर्मचारीहरुले उदाहरणीय ढंगले काम गर्न सके देश नै लाभान्वित हुने बताउनुभयो ।
शुभकामना आदानप्रदानलाई कर्मचारीहरुको प्रोत्साहनसँग जोडनुपर्ने धारणा राख्दै उहाँले कर्मचारीहरुले आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने र ट्रेड युनियनबाट टाढा रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा एशोसिएनका विकास प्रजापति, विद्यालक्ष्मी प्रजापति र रामकृष्ण प्रजापतिले दशैं बिदाको समयलाई सदुपयोग गर्नुपर्ने र पठन संस्कृतिको विकास गरी आफ्नो सैद्धान्तिक स्तर उकास्नतर्फ कर्मचारीहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.