Explore news and happenings at Bhaktapur

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरुहरूको सम्मान

भक्तपुर । २०८१ असोज ११ गते, शुक्रबार

0
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भएको ४५ औं विश्व पर्यटन दिवसको अवसरमा गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान तथा पर्यटन सम्बद्व संघ संस्था, व्यवसायी र सहयोगीहरूलाई सम्मान कार्यक्रम शुक्रबार एक भव्य समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा सम्मानित संस्कृतिकर्मी र सांस्कृतिक गुरुहरुलाई बधाईज्ञापन गर्नुहुँदै सांसद सुवालले भक्तपुरलाई सफा, स्वच्छ र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न नगरबासीहरुलाई सरसफाइबारे सचेत पार्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजमा देशभरिका विद्यार्थीहरुले सस्तोमा गुणस्तरीय शिक्षा लिने अवसर पाइरहेको र ख्वप विश्वविद्यालय सञ्चालनले सस्तोमा मेडिकल शिक्षा प्राप्त गर्ने अवसर पाउने उहाँको धारणा थियो ।
कोभिड र डेङ्गु संक्रमण अहिले पनि चुनौतीको विषय बनिरहेको बताउँदै सांसद सुवालले नागरिकलाई स्वस्थ राख्न सरसफाइ र खेलकुदलाई प्राथमिकतामा राख्नु उचित हुने विचार राख्नुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने विचार राख्दै उहाँले नयाँ पुस्तालाई सांस्कृतिक अतिक्रमणबारे सजग पार्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छिकोङ व्यायाम श्वासप्रश्वाससँग सम्बन्धित शारीरिक व्यायाम भएको र यो व्यायाम सम्पूर्ण उमेर समूहको लागि फलदायी भएको उहाँको भनाइ थियो ।
संस्कृति भनेको सभ्यताको विकास हो र यहाँको कला संस्कृति, सम्पदा आदि संरक्षणले नयाँ पुस्ताको सेवा हुने धारणा राख्नुभयो ।
काठमाडौं केन्द्रित विकासले उपत्यकाको जनसंख्या अत्यधिक बढेको र धेरै समस्याहरु पनि निम्तिएको बताउँदै सांसद सुवालले पश्चिम नेपालको विकास गर्न नेपालको राजधानी दाङमा सानुपर्ने धारणा राख्नुभयो ।
उहाँले सबै नागरिकले समानतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चितता गर्न सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा पुरस्कृत हुने सबैमा बधाई एवम् धन्यवाद ज्ञापन गर्नुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुर नपाले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर काम गर्दै आएको बताउनुहुँदै भक्तपुर नपामा गत वर्ष 2 लाख ४६ हजार विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गरेको बताउनुभयो ।
भक्तपुर नपाले २०८१ मंसिर २८ देखि पुस २ गतेसम्म ५ दिने भक्तपुर महोत्सव गर्ने तयारी गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर महोत्सव भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरका मूर्त अमूर्त सम्पदाहरु भक्तपुरका सम्पत्ति हुन् भन्दै उहाँले ती सम्पत्ति लोप हुनु भनेको राज्यको निम्ति ठूलो क्षति हुनु हो भन्नुभयो । सबै जाति, धर्म र संस्कृति रक्षा गर्नु राज्यको जिम्मेवारी र कर्तव्य भएको उहाँले बताउनुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले पर्यटन प्रवद्र्धनको निम्ति शान्ति र सुरक्षा अपरिहार्य विषय भएको बताउँदै सांस्कृतिक, साहित्यिक, सामाजिक र राजनीतिक गतिविधिलाई सँगसँगै अगाडि बढाउन सके जनताको चेतनास्तर अभिवृद्धिमा टेवा पुग्ने बताउनुभयो ।
प्रगतिशील साहित्य, राजनीति र संगठन भनेको सभ्य जातिको कला, संस्कृति संरक्षण गर्ने सशक्त माध्यम भएको बताउँदै उहाँले भक्तपुर सांस्कृतिक नायक र गुरुहरुको सहर हो भन्नुभयो ।
संरा अमेरिकाको आडमा संसारका धेरै देशहरुमा युद्ध जारी रहेको प्रसंग जोड्दै सांसद गोसाईले साम्राज्यवादी देशले संसारमा गरिरहेको नरसंहार र हमलाको विरोधमा लेखक तथा कलाकारहरुले आफ्नो कलम चलाउनु सान्दर्भिक हुने बताउनुभयो ।
उहाँले भक्तपुर नपाले सांस्कृतिक गुरु र संस्कृतिकर्मीलाई सम्मान गर्ने परम्परालाई आगामी दिनहरुमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका उप्रमुख रजनी जोशीले भक्तपुरको पहिचानसँग सम्बन्धित मूर्त र अमूर्त संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्ने लक्ष्यका साथ यहाँका संस्कृतिकर्मीहरुलाई प्रोत्साहनस्वरुप सम्मान र्काक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले विदेशी पर्यटकहरुबाट उठाउँदै आएको पर्यटन शुल्कबाट नगरको सन्तुलित ढंगले विकास गर्दै आज देशकै सफल स्थानीय तहको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको उहाँले बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पर्यटन उद्योग नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्रोत भएको बताउँदै पर्यटन उद्योगको प्रवद्र्धनमा राज्यको लगानी आवश्यक छ भन्नुभयो ।
भक्तपुरले यहाँको मौलिकता जोगाउन गरिएका सांस्कृतिक गतिविधिहरु प्रशंसनीय भएको बताउँदै उहाँले भक्तपुरले पनि पर्यटकहरु लक्षित होम स्टेहरु सञ्चालन गरी पर्यटकहरुको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्छ भन्नुभयो ।
संस्कृतिविद् विश्वमोहन जोशीले पर्यटन दिवस मनाउनुको इतिहास र उद्देश्यबारे प्रष्ट पार्दै सांस्कृतिक सम्पदा, ऐतिहासिक गतिविधि, कला र संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
राष्ट्रिय कला संग्रहालयका अधिकृत यमुना महर्जनले भक्तपुर घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरुको आगमन उत्साहजनक रहेको बताउँदै भक्तपुरका लोपोन्मुख कला र संस्कृति संरक्षणमा भक्तपुर नपाको महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबन्जाले संस्कृतिकर्मी र सांस्कृतिक गुरु सम्मान कार्यक्रमले कलाकार र संस्कृतिकर्मीमा थप ऊर्जा र हौसला मिल्नेछ भन्दै भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नपासँग सहकार्य र समन्वयमा यहाँको व्यापार व्यवसाय प्रवद्र्धनमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्यांकनको समीक्षा गर्नुभएको थियो भने भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले यो वर्ष पनि प्रत्येक वडाबाट २ जना सांस्कृतिक गुरुहरुलाई उहाँहरुको योगदानको कदर गर्दै भक्तपुर नपाले सम्मान गरिएको र यो वर्षको गुन्हीपुन्ही सापारुमा विविध विधाअन्तर्गत १४२ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएको बताउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सुवालले पर्यटन पथप्रदर्शकहरु, व्यवसायी संस्था र सहयोगीहरुहरूलाई कदर पत्र प्रदान गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले २२ जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. २०,०००।– सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उत्कृष्ट कलाकारहरूलाई रु. ५००० नगद पुरस्कारबाट पुरस्कृत गर्नुभयो ।
सोही क्रममा प्रमुख प्रजापति, प्रमुख प्रशसकीय अधिकृत वसन्त भट्टराई र संस्कृतिविद् विश्वमोहन जोशी, संग्रहालय अधिकृत यमुना महर्जनले आधुनिक विधा र परम्परागत विधाका विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
अतिथि सुरेन्द्रराज गोसाइँले पर्यटन सम्बद्ध संघ संस्था र ट्राभल एजेन्सीहरूलाई कदर पत्र प्रदान गर्नुभयो ।
उपप्रमुख जोशीले प्रतियोगिताका मूल्यांकनकर्तालाई मायाको चिनो र घिन्ताङघिसी, माक प्याखंका विजेताहरुलाई पुरस्कार वितरण र सहभागी समूहलाई नगद पुरस्कारसहित कदरपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कोलाछें प्याखं समूहको फाकंदली प्याखं, गलसी पुखु देवी प्याखं समूहको देवी प्याखं र याताव दाफा भजन मण्डल झौखेलको माक प्याखँ पनि देखाइएको थियो ।
गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधामा मको लुसी प्याखं खल, भनपा ९ का विदिसा लवजू महिला उत्कृष्ट कलाकार, मुस्याख्व परिवार देवी प्याखं समूह भनपा ३ का लक्ष्मीप्रसाद मानन्धर उत्कृष्ट पुरुष पुरस्कार, सिद्धि गणेश प्याखं समूह भनपा ७ का विनेश खाइजु उत्कृष्ट बाल कलाकार, मंगलमाया वनमाला समेतको घिन्ताङघिसी समूह भनपा ७ का निर्देशक लक्ष्मीप्रसाद वनमाला उत्कृष्ट निर्देशक र च्वङा गणेश सांस्कृतिक समूह भनपा १ का साइला वैद्य उत्कृष्ट लेखकबाट सम्मानित हुनुभयो ।
आज सम्मानित हुने सांस्कृतिक गुरुहरू भ.न.पा वडा नं १ बाट देवचन्द्र बज्राचार्य र मंगलबहादुर भैल, वडा नं २ बाट रामभक्त ब्यान्जु र विकुबहादुर पक्का, वडा नं ३ बाट हर्षविर धुख्वा र बद्रीभक्त खबुजा, वडा नं ४ बाट न्हुछेकुमार प्रजापति र चन्द्रबहादुर कपाली, वडा नं ५ बाट जगनाथ त्वानाबासु र ब्रम्हकाजी दर्शनधारी, वडा नं ६ बाट आसराम अवाल र गणेशबहादुर सुवाल, वडा नं ७ बाट नारायणभक्त वनमाला र मोतिलाल लाखाजु, वडा नं ८ बाट तुल्सीनारायण गोसाई र कृष्णगोपाल प्याथ, वडा नं ९ बाट तुल्सीभक्त कोजु र राजाराम श्रेष्ठ, वडा नं १० बाट रामचन्द्र सुवाल र काजीलाल मुलगुठी हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.