Explore news and happenings at Bhaktapur

स्थानीय निकायलाई नै अधिकार सम्पन्न बनाउनुपर्ने

भक्तपुर, २०७५ मंसिर २६ गते बुधबार ।

0

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको अध्यक्षतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्लास्तरीय निजी आवास पुनर्निर्माणसम्बन्धी दुईदिने अभिमुखीकरण तथा समीक्षा गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले भूकम्प पीडितको अनुदान रकम अपुग भएको र सम्भावित जोखिमबाट बच्न भूकम्प प्रतिरोधी घर निर्माणमा जनतालाई सचेत गराउन आवश्यक रहेको औंल्याउनुभयो ।
सांसद सुवालले पहिलो किस्ताको अनुदान रकम लिने भूकम्प पीडितहरु धरै भए पनि झन्झटिलो प्रक्रियाका कारण दोस्रो र तेस्रो किस्ता लिनेको संख्या न्यून भएको बताउनुभयो । उहा“ले स्थानीय निकायलाई नै अधिकारसम्पन्न बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
मापदण्डविपरीत बनेका भवनहरुको प्रबलीकरणको निम्ति ऋण दिने व्यवस्था हुनुपर्ने बताउनुहुँदै सम्पदा क्षेत्र र निजी आवास पुनःनिर्माण कार्यलाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
पुनःनिर्माणमा खटिने कालीगढ तथा प्राविधिकहरुलाई सीपमूलक तालिम दिई दक्ष जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताउनुहुँदै सांसद सुवालले भूकम्पका भग्नावशेष हटाउन सरकारको तर्फबाट सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प पीडितहरुका लागि नक्सा पासको प्रक्रिया सरल बनाउनुपर्ने, भूकम्प प्रतिरोधी सुरक्षित घर निर्माणमा जोड दिनुपर्ने र ऐतिहासिक सहर मौलिक स्वरुपमै पुनःनिर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प पीडितलाई दिने ऋण निब्र्याजी उपलब्ध गराउनुपर्ने र अनुदान रकम वास्तविक पीडितको पहु“चसम्म पुग्नुपर्ने बताउनुभयो ।
उहाँले पुनःनिर्माणको कार्यशैलीमा जटिलता कम गर्न स्थानीय निकायलाई नै अधिकारसम्पन्न निकायको रुपमा विकास गर्नुपर्ने बताउनुहुँदै प्राविधिक र कानुनी समस्या भएका भूकम्प पीडितलाई अनुदान रकम लिन म्याद थपको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माण सबैको साझा कर्तव्य भएका औंल्याउनुहुँदै भक्तपुरका सबै सम्पदाहरु नेपाल सरकार, पुरातत्व विभाग र स्थानीय निकाय मिलेर बनाउने प्रावधान आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सदस्य सृजना सैंजुले वास्तविक गरिब–किसानलाई राहत दिन नेपाल सरकारले आवास योजना सञ्चालन गर्नुपर्ने बताउनुहुँदै भूकम्प पीडितलाई दिइने ऋण वास्तविक पीडितको पहुँचमा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघीय सांसद महेश बस्नेत, प्रदेश नं. ३ का प्रदेशसभा सदस्यहरु, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख तथा कार्यकारी सदस्य, विभिन्न नगरपालिकाका प्रमुख÷उपप्रमुखहरुले पनि बोल्नुभएका थियो ।
साथै जिल्ला आयोजना कार्यान्वयन इकाईका सदस्यहरुले भक्तपुर जिल्लामा पुनःनिर्माणको वर्तमान अवस्था तथा प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.