Explore news and happenings at Bhaktapur

‘१०० वर्षपछिको भक्तपुर’ पुस्तक भक्तपुर विकासको मार्गचित्र बनेको छ’

सुनिल प्रजापति, प्रमुख भक्तपुर नपा

0
त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा पाल्नुभएका विभिन्न देशका विश्वविद्यालयहरुका प्राध्यापकज्यूहरु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरु सम्पूर्ण सहभागीहरुलाई सांस्कृतिक नगर भक्तपुरको तर्फबाट हार्दिक स्वागत एवम् अभिवादन गर्दछौं ।
त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभाग र नगरपालिकाबीच समन्वय र सहकार्य हुँदै आएको छ । २०८१ वैशाख २५ गते भक्तपुर नगरपालिका र त्रिविवि नेपाली इतिहास, संस्कृति र पुरातत्व, केन्द्रीय विभागको सहकार्यमा ‘भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धनात्मक कार्यशाला गोष्ठी’ सम्पन्न ग¥यौं । भविष्यमा पनि त्यस्ता कार्यक्रमहरु आयोजना गर्दै जानेछौं । विभिन्न देशका विश्वविद्यालयहरुबाट पाल्नुभएका प्राध्यापकहरुसँग भेटघाटको अवसर दिनुभएकोमा भक्तपुर नगरपालिकाको तर्फबाट विभाग प्रमुख डा. महेशकुमार आचार्यज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
देशको सानो नगर मध्ये एक भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगर हो । सांस्कृतिक नगर, नाचगानको राजधानीको रुपमा परिचित यस भक्तपुर नगरमा मूर्त र अमूर्त कला संस्कृति तथा सम्पदाहरु जिवन्त देख्न पाइन्छ । यहाँका विविध पक्षको अध्ययन गरेर जर्मनी वास्तुकलाविद् निल गोत्सोले ‘भक्तपुरलाई संसारकै ठूलो जीवित संग्रहालय’ को नाम दिनुभएको छ ।
नेपालका सातवटा विश्व सम्पदामा सूचिकृत क्षेत्रहरुमध्ये भक्तपुर दरबार क्षेत्र यस नगरपालिकामा अवस्थित छ । दरबार क्षेत्र, टौमढी र दतात्रय क्षेत्र यहाँका साँस्कृतिक, ऐतिहासिक र पुरातात्वक महत्व बोकेका उत्कृष्ट क्षेत्रहरु हुन् । दरवार क्षेत्रमा अवस्थित ५५ झ्याल दरबार, सुन ढोका र वत्सला मन्दिर टौमढीको देशकै अग्लो ५ तल्ले मन्दिर र भैरवनाथको मन्दिर तथा दत्तात्रय क्षेत्रका मठ मन्दिरहरु धातुकला, प्रष्टरकला र काष्ठकलाका अनुपम नमूनाहरु हुन् ।
सयौं वर्ष पुराना हाम्रा सम्पदाहरु संरक्षणको अभावमा कतिपय लोप भइसके, कतिपय लोपोन्मुख अवस्थामा छन् भने धेरै सम्पदाहरु संरक्षण गरिरहेका छौं । लोप भइसकेका सम्पदाहरुको अध्ययन, अनुसन्धान र उत्खनन् गर्दै प्राचीन मौलिकतालाई ध्यान दिएर संरक्षण गर्दै आइरहेका छौं । २०७२ सालको भूकम्पले सयौं सम्पदाहरुलाई क्षति पु¥याए पनि हामीले यस ७ वर्षको अवधिमा विदेशी सहयोग विना जस्ताको तस्तै पुनःनिर्माण र जिर्णोद्धार गरि सकेका छौं ।
भक्तपुरको प्राचीन नगर एक सम्पदा सहर हो । यहाँको मौलिकता बचाइ राख्न भनपाको ठूलो चुनौती हो । यहाँका मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणका लागि भनपाले २०५० सालदेखि पर्यटन शुल्क उठाइ आएको हो । त्यही शुल्कबाट भक्तपुरका सम्पदाहरुको संरक्षणसँगै शिक्षा, स्वास्थ्य, सरसफाइलगायतको क्षेत्रमा खर्च गर्दै आएको छ ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था छ । स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिएको सरकार हो । भक्तपुर नगरपालिकामा शत प्रतिशत जनप्रििनधिहरु नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित भएका छौं । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी हो । यस पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको छ । देश र जनताको सेवा नै यस पार्टीको मुख्य उद्देश्य हो ।
नारायणमान बिजुक्छेँले यस नगरको भविष्यको कल्पना गर्दै ‘१०० वर्षपछिको भक्तपुर’ नामक एक पुस्तक लेख्नुभयो । आजभन्दा २० वर्षअघि लेख्नुभएको उक्त पुस्तक नै अहिले भक्तपुर विकासको मार्गचित्र बनेको छ । हामी त्यसैलाई आधार मानेर काम गर्दैछौं । पुस्तकमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, रोजगारी सबै दृष्टिले भक्तपुर ‘विश्वकै एक आकर्षक नगर बन्ने’ उल्लेख गर्नुभएको छ ।
नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको छ । ती कलेजहरुले हरेक वर्ष विभिन्न विषयमा राष्ट्रिय सम्मेलन र २ वर्षको एकपटक अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्दै आएका छन् । आगामी अन्तर्राष्ट्रिय सम्मेलनमा यहाँहरुको विश्वविद्यालयहरुबाट पनि सहभागिताको अपेक्षा गर्दछौं ।
इतिहास र संस्कृतिको महत्वलाई ध्यानमा राखेर भक्तपुर नपाले ती विषयहरुमा अध्ययन गर्ने सम्पूर्ण नगरबासी विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । यसले ती विषयहरुमा विद्यार्थीहरुको आकर्षण पनि बढ्दैछ । पुनः सबैलाई नगरपालिकाको तर्फबाट हार्दिक स्वागत गर्दछौं ।
(त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको आयोजनामा अमूर्त संस्कृतिसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रशान्त क्षेत्रका विश्वविद्यालयको साधारणसभामा पाल्नुभएका प्रतिनिधिमण्ड टोलीलाई मिति २०८१ असोज ७ गते भक्तपुर नगरपालिकामा स्वागत कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.