Explore news and happenings at Bhaktapur

च्वङा गणेशस्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न

मिति २०८१ असोज ४ गते शुक्रबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, भक्तपुर र च्वङा गणेशस्थान विकास संस्थाको संयुक्त आयोजनामा भनपा–१ स्थित च्वङा गणेशस्थानमा वृक्षारोपण कार्यक्रम आज सम्पन्न भयो ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सल्लाघारी पहिलेदेखिनै साँस्कतिक महत्वको ठाउँ भएको चर्चा गर्नुहुँदै सो क्षेत्र नेपाली सेनाको नाउँमा भएतापनि जनताले उपभोग र संरक्षण गर्दै आइरहेको बताउनुभयो । “वातावरण जीवन हो, अक्सीजन विना मानिसको जीवन असम्भव छ” भन्नुहुँदै उहाँले भक्तपुर नगरपालिकाले नेपाल सरकारसँग सो क्षेत्रको सिमाङ्कन र संरक्षणबारे पटक पटक छलफल गरी कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
हिजो असोज ३ गते भक्तपुर नपाद्वारा संचालित ख्वप कलेज अफ ल समेतका शैक्षिक संस्थाहरुले “संविधान कार्यान्वयन र संशोधनको प्रश्न” विषयक प्रवचन कार्यक्रम ख्वप ई कलेजमा सम्पन्न गरेको जानकारी पनि सो अवसरमा दिनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले संविधान दिवसको अवसरमा मिति २०८१ असोज २,३ र ४ गते गरी तीन दिनसम्म कार्यक्रम गर्ने सिलसिलामा वृक्षारोपण कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरमा जग्गाको अभावमा वृक्षारोपण गर्ने ठाउँको कमी भएको बताउनुभयो ।
कार्यक्रममा भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र च्वङा गणेश विकास समितिका अध्यक्ष लक्ष्मी नारायण खत्रीले पनि बोल्नुभएको थियो ।
प्रमुख अतिथि र विशेष अतिथि लगायतका प्रतिनिधिहरुले विभिन्न जातका वृक्षहरु रोप्नु भएको थियो । केही समय अघि मात्रै सल्लाघारीमा रहेका धेरै वर्ष पुराना रुखहरुले मानिसको लागि खतरा देखिएको हुँदा भनपा, जिल्ला प्रशासन, वन कार्यालय, नेपाली सेना लगायतबीच समन्वयमा ती रुखहरु काट्न लगाइका थिए । अहिले ती ठाउँहरुमा वृक्षारोपण गरिएको हो ।

Leave A Reply

Your email address will not be published.