खेलकुदलाई प्राथमिकतामा नराखेकै कारण आशातित प्रगति हुन सकेन
भक्तपुर । २०८१ भदौ २१ गते
भक्तपुर नगरपालिका वडा नं. ६ खेलकुद समिति भक्तपुर किक बक्सिङ क्लबको आयोजनामा आज खेलाडी सम्मान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आवश्यक पूर्वाधार र राम्रा प्रशिक्षक विना राम्रा खेलाडीहरु उत्पादन गर्न गाह्रो हुने बताउँदै सरकारले खेलकुदलाई प्राथमिकतामा नराखेकै कारण आशातित प्रगति हुन नसकेको बताउनुभयो ।
धेरै ठूलो त्याग गर्नेहरुले नै ठूल्ठूला सफलता हासिल गर्न सक्ने बताउँदै उहाँले राम्रा राम्रा खेल प्रशिक्षकहरुलाई राज्यले राम्रो सम्मान नगरेकै कारण खेलाडीहरु विदेश पलायन भइरहेको बताउनभुयो ।
अन्तर्राष्ट्रिय खेलमा भाग लिनेहरुले देशलाई र राष्ट्रिय खेलमा भाग लिनेहरुले आफ्नो पालिकालाई केन्द्रमा राखेर खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले राम्रा खेलाडी उत्पादनले प्रशिक्षकको नाम इतिहासमा कायम रहने हुँदा दिपक श्रेष्ठको कार्यकालमा कराँते खेलमा राम्रा राम्रा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन हुने अपेक्षासहित बधाइ र शुभकामना दिनुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले दक्ष युवा जनशक्ति विदेशिँदा देश विकासमा बाधा पुगेको बताउँदै खेलाडीहरुले आफ्नो देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्ने बताउनुभयो ।
त्यस्तै भनपा ६ वडा सदस्य गोविन्द दुवालले खेलाडीहरु अनुशासित, इमानदार र नैतिकवान हुनुपर्ने बताउँदै राजनैतिक नेताहरुमा ती नहुँदा देशले दुर्दशा भोग्नुपरेको स्पष्ट पार्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैंया सुवालले ६ नं. वडाको तर्फबाट खेलकुद विकासमा सहयोग गरिरहेको बताउँदै वडाले छिकोङलगायत विभिन्न खेललाई ठाउँ उपलब्ध गराउँदै आएको बताउनभयो ।
कार्यक्रममा नेपाल किक बक्सिङ सङ्घका संस्थापक दिपक श्रेष्ठ, वडा नं. ६ खेलकुद समितिका संयोजक राजुसिंह बजिको र प्रशिक्षक रामशरण त्वातीले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रमुख प्रशिक्षक दिपक श्रेष्ठ र चौथो अन्तर्राष्ट्रिय मुवाथाई प्रतियोगितामा स्वर्ण पदक प्राप्त खेलाडी प्रविन तामाङलाई सम्मान गर्नुभएको थियो ।